क्यान्सरसँग लड्दा लड्दै बिदा भईन् प्रचण्डकी जेठी छोरी

चैत्र १४ काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी जेठी छोरी ज्ञानु केसीको उपचारका क्रममा निधन भएको छ । लामो समयदेखि क्यान्सर पीडित रहेकी केसीको चावहिलस्थित ओम अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको अध्यक्ष दाहालका स्वकीय सचिव चुडामणी खड्काले बताए ।
केसीको बिहीबार नै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ । अन्त्येष्टि अघि पशुपति परिसरमा गरिएको शोकसभामा विभिन्न दलका नेताहरु, सरकारका मन्त्रीहरु तथा सयौं पार्टीका कार्यकर्ता तथा शुभचिन्तक पशुपति परिसर पुगेका थिए । अध्यक्ष प्रचण्डले पार्टीको झण्डा ओढाएर छोरीलाई श्रद्धाञ्जली अर्पण गरेका थिए । केसीको हिन्दू संस्कार अनुसार अन्त्यष्टि गरिएको थियो । अन्तिम दर्शनका लागि आर्यघाटको छेउमा राखिएकी ज्ञानुलाई हिन्दु संस्कार अनुसार उनका श्रीमान अर्जुन केसीले दागबत्ती दिएका थिए । त्यसअघि अध्यक्ष प्रचण्ड, उनकी पत्नी सीता पौडेल, ज्ञानुका भाइ प्रकाश दाहाललगायतले ज्ञानुको अश्रुपूर्ण अन्तिम बिदाइ गरेका थिए ।
केसीलाई अन्तिम श्रद्दाञ्जली दिन एमाओवादीका नेताहरु बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, पोष्टबहादुर बोगटी, कृष्ण बहादुर महरा, हिसिला यमी, देवेन्द्र पौडेल लगायतका पार्टीका शीर्ष नेता पशुपतिस्थित आर्यघाट पुगेका थिए ।
त्यस्तै श्रद्धाञ्जली दिन सरकारका तर्फबाट सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजाल, नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य, नेकपा एमालेका सचिव विष्णु पौडेल, कांग्रेस नेता शेखर कोइराला र पूर्व प्रहरी प्रमुख कुवेर सिंह रानालगायत उच्च पदस्थ व्यक्ति आर्यघाट पुगेका थिए ।
केसी स्तन क्यान्सरबाट १० वर्ष भन्दा अघिदेखि पीडित रहदै आएकी थिइन् । लामो समय उनलाई मुम्बई, दिल्लीमा उपचार गरिएको थियो । त्यस्तै केसीलाई अमेरिकामा समेत उपचार गराउदा पनि स्वास्थ्यमा सुधार नआएपछि काठमाडौं ल्याइएको थियो । पछिल्लो समय उनलाई क्यान्सरले झनै च्यापेका कारण अवस्था जटिल बन्दै गएको थियो । प्रचण्डका चार छोराछोरीमध्ये ज्ञानु जेठी हुन् । स्तन क्यान्सरबाट पीडित ४० वर्षीया केसीका पति र दुई छोरी छन् । पछिल्ला दिनमा उनलाई रोगले निक्कै च्यापेपछि अध्यक्ष दाहाल दिनहु जसो छोरीको हेरचाहका लागि अस्पताल जाने गर्दथे ।
उनको परिवारमा यसअघि आमा भवानी पाठकको पनि क्यान्सरबाटै मृत्यु भएको थियो ।
प्रकाशित मिति:
March 27, 2014