नेपाली समाजबारे कम्युनिष्ट नेता नै गोलमालमा

कार्यक्रमा वोल्दै नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले आजको नेपाली समाज व्यापारिक पुँजीवाद भएको तर्क गरे । ‘आजको नेपाली समाज औधोगिक होइन व्यापारिक पुँजीवाद हो,’ उनले भने, ‘अहिले गाउँ–गाउँसम्म पनि व्यापारिक पँुजीवाद नै छ ।’ नेपालमा करीब १५ सय वर्ष पहिला उत्थान भएको सामन्तवाद विघटन भएको भन्दै खनालले ०४६ सालको परिवर्तनछि नेपालमा पुँजीवादी समाजको विकास भएको धारणा राखे । उनले ०६२–०६३ को राजनीतिक क्रान्तिलाई पुँजीवादी जनक्रान्ति भएको समेत तर्क गरे । ‘०६२–०६३ मा पुँजीपति र श्रमजीवी मिलेर पुँजीवादी जनक्रान्ति गरेँ,’ उनले भने, ‘हाम्रो पुँजीवादी समाज अहिले विस्तारै समाजवादतिर विकास हुँदै गएको छ ।
दक्षिण एसिया मात्र नभएर विश्वमै पुँजीवादको व्यापक विस्तार भएको तर्क गरेका खनालले अव आर्थिक क्रान्तिलाई केन्द्रमा राखेर अघि बढ्नु पर्ने बताए । नेपाल स्वतन्त्र र सार्वभौम मुलुक भएको तर्क गरेका खनालले नेपाललाई अर्ध–औपनिवेशिक भन्न नहुने चर्चा गरे । सबै कम्युनिष्टहरु कार्यनीति, विचार र दृष्टिकोणमा स्पष्ट र एकाकार भएर अघि बढ्ने हो भने समाजवादको लक्ष्य भेटिने उनको तर्क थियो । एमालेको आगामी नवौँ महाधिवेशन त्यसतर्फ केन्द्रित हुने उनको भनाई थियो । ‘यसैको जगमा उभिएर एमालेले विचार र सिद्धान्तनिष्ठ पार्टी निर्माण गर्ने छ,’ उनले भने ।
कार्यक्रममा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली समाज समाजवाद उन्मुुख र सामन्तवादको अन्त्य भएको सङ्क्रमणकालिन अवस्थामा रहेको धारणा राखे । पुँजीवादको व्यापक विस्तार गर्नु पर्ने अवस्थामा रहेको उनको तर्क थियो । नेपालमा कम्युनिष्ट पार्टीको हाराहारीमा कुनै पनि शक्ति नरहेको भन्दै उनले कम्युनिष्ट पार्टीलाई मजवुत बनाउँन जडशुत्रवाद र विसर्जनवादका विरुद्ध लड्नु पर्ने तर्क गरे । नेपाली समाजमा सामन्तवादका सवै अवशेष अन्त्य नभएको उनको भनाई थियो । कम्युनिष्ट पार्टीको फरक–फरक चुल्होचौको भएकाले नेपाली कम्युनिष्ट आन्दोलनलाई अघि बढाउँन मुस्किल भएको उनको धारणा थियो । ‘नेपालका सबै कम्युनिष्ट पार्टी एउटै झण्डामुनी बस्ने हो र नेपाली समाजको पछौटेपनालाई अन्त्य गर्ने हो भने कम्युनिष्ट आन्दोलनलाई अघि बढाउँन सहज हुन्छ ।
नेपाल अध्ययन केन्द्रको तर्फबाट बोलेका एमाले नेता घनश्याम भुसालले नेपाली समाजको स्वरुप दलाल पुँजीवादी भएको तर्क गरे । ‘नेपाली समाजको स्वरुप उद्यमशील पुँजीवादी होइन, दलाल पुँजीवादी हो,’ उनले भने, ‘हामीले हाम्रो समाज चिन्ह सकेनौँ, हाम्रो समाज पुँजीवादी भएको छ ।’ नेपाली समाजका आधारभुत मुद्दामा पार्टी बेखबर रहेको उनको धारणा थियो । उनले विचारलाई रुपान्तरण गर्न नसकेको र सामाजका आधारभुत मुद्दा र सामाजिक विकास कहाँ पुग्यो भन्ने कुरामै बेखबर रहेको तर्क गरे ।
नेपाली समाज सामन्तवादवाट बाहिर निस्केको तर्क गर्दै परनिर्भर अर्थतन्त्रवाट आत्मनिर्भर अर्थतन्त्र विकास गर्न सकेको अवस्थामा करीब ३५ वर्षपछि नेपाल समाजवादतिर हेर्न सक्ने हुने धारणा थियो । आफ्नो उत्पादक शक्ति बढाउँन नसके छिमेकीको विकासको बाढीले बगाउँने उनको विश्लेषण थियो । एमाले चुनावदेखि चुनावसम्म र एमाओवादी हतियारदेखि हतियारसम्म मात्र केन्द्रित भएकाले नेपालको कम्युनिष्ट आन्दोल सुस्ताएको पनि उनको तर्क थियो । आगामी दिनमा जनताको बहुदलीय जनवादलाई भनिने र लेखिनेमा मात्र सिमित नगरी देखिनेमा विकास गर्न सकिएन भने एमालेको भविष्य राम्रो नभएको उनले सङ्केत गरे । खनालकै जस्तो भुसालले पनि नेपाल अर्ध–औपनिवेशको अवस्थामा नरहेको तर्क गरे । पार्टीको नीति र सङ्गठन उत्पादनसँग जोडिनु पर्ने उनको भनाई थियो ।
नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीले नेपाली समाज पुँजीवादी प्रजातन्त्रको अवस्थामा रहेका धारणा राखे । नेपाली समाजको लक्ष्य समाजवाद भएको उनको तर्क थियो । एमाओवादी नेता राम कार्कीले माक्र्सवादी दर्शन परिपूर्ण दर्शन नभएको तर्क गरे । राजनीतिको क्षेत्रमा माक्र्सवादी दर्शन धेरै क्षेत्रमा चुकेको उनको भनाई थियो । उनले अन्तरपार्टी प्रजातन्त्र के–हो भन्ने कुरामा स्पष्ट नभई अघि बढ्ने हो भने नेपाली कम्युनिष्ट आन्दोलनले गति नलिने दाबी गरे ।
प्रकाशित मिति:
March 27, 2014