प्रधानमन्त्रीले समेत आफ्नै कार्यकर्तालाई झुक्याए
चैत्र १९ । प्रधानमन्त्री सुशिल कोइराला लगायत अन्य मन्त्रीहरुले आफ्नै कार्यकर्तालाई झुक्याएका छन् । सरकारसँगका पीरमर्का सुन्ने कार्यतालिका बनाए पनि मन्त्रीहरू नआएपछि नेता–कार्यकर्ता कांग्रेस केन्द्रीय कार्यालयमा दिनभर कुरेर फर्कने गरेका हुन् । नेता–कार्यकर्ताका गुनासा सुन्न कांग्रेसका ११ मन्त्रीमा दश दिनमा तीनजना मात्र कार्यालय पुगेका छन् ।
कांग्रेसले ७ चैतबाट कार्यालयमा आउने प्रधानमन्त्रीसहित मन्त्रीको कार्यतालिका घोषणा गरेको थियो । प्रधानमन्त्री सुशील कोइरालाको स्वीकृतिमा सबै मन्त्रीले कार्यालयमै नेता, कार्यकर्ता र जनताको गुनासा सुन्न र सुनुवाइ गर्ने भनिएको थियो । तर, तीन मन्त्रीले मात्र कार्यतालिकाको पालना गरेको खबर आजको नयाँ पत्रिकामा छापिएको छ।
सबै मन्त्रीका लागि साताको एक दिन दुई घन्टा कार्यालयमा उपस्थित हुने समय घोषणा गरिएको थियो । तालिकाअनुसार उपस्थित नहुने मन्त्रीले सचिवालयमार्फत जानकारीसमेत नदिएको कार्यालयले जनाएको छ । समस्या र गुनासा राख्न कार्यालयमा पुग्ने कार्यकर्ता सबै मन्त्री उपस्थित नभएपछि निराश भएर फर्कन बाध्य हुने गरेका छन् ।
दश दिनमा भौतिक योजनामन्त्री विमलेन्द्र निधि, सिँचाइमन्त्री एनपी साउद, श्रम राज्यमन्त्री टेकबहादुर गुरुङ मात्र तालिकाअनुसार नियमित कार्यालय पुगेका छन् । तालिका सार्वजनिक भएपछि एकपटक पनि कार्यालयमा नपुग्नेमा उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंह, अर्थमन्त्री डा। रामशरण महत, कानुनमन्त्री नरहरि आचार्य, वनमन्त्री महेश आचार्य, शिक्षामन्त्री चित्रलेखा यादव, सञ्चारमन्त्री डा। मीनेन्द्र रिजाल र सहरी विकासमन्त्री डा। नारायण खड्का छन् । अनुकूल समय र पूर्वसूचनामा जाने भनिए पनि प्रधानमन्त्री कोइारालासमेत कार्यालय पुगेका छ्रैनन् ।
तालिकाअनुसार निधि दुईवटै सोमबार र गुरुङ मंगलबार कार्यालय पुगेका थिए । साउद ७ चैतमा कार्यालयमा थिए । तर, १४ चैतमा भने उनी कार्यालयमा खबर नगरी पश्चिम नेपालको कार्यक्रममा गए ।
‘केही मन्त्रीको दुईपटक पार्टी कार्यालयमा आउने तालिका सकियो, तर एकपटक पनि आउनुभएको छैन,’ केन्द्रीय कार्यालय स्रोतले भन्यो, ‘आउने वा नआउने र के कारणले आउन नसकेको भन्नेबारे पनि अधिकांश मन्त्रीका सचिवालयले कुनै जानकारी गराएका छैनन् ।’ बिहीबार पालो परेका वनमन्त्री महेश आचार्यले भने काम–विशेषले कार्यालयमा उपस्थित हुन नसकेको जानकारी गराएको कार्यालयले जनाएको छ ।
मन्त्रीहरू नियमित कार्यालय पुग्ने घोषणा गरिएपछि उत्साहित भएर कार्यालय आएका नेता, कार्यकर्ता र सर्वसाधारण निराश भएर फर्कने गरेको कार्यालयका कर्मचारीहरू बताउँछन् । ‘पार्टी सभापति तथा प्रधानमन्त्रीकै आग्रहअनुसार मन्त्रीहरू साताको एकपटक कार्यालय आउन तयार भएका थिए,’ एक कर्मचारीले भने, ‘तर, कार्यकर्ता र सर्वसाधारण आए पनि मन्त्रीहरू नआएपछि उनीहरू निराश भएर फर्कने गरेका छन् ।’ कार्यालयका अनुसार विकास निर्माणसम्बन्धी गुनासा, आर्थिक सहयोगलगायतका विषय लिएर नेता–कार्यकर्ता आउने गरेका छन् ।
प्रकाशित मिति:
April 02, 2014