राष्ट्रिय क्रिकेट टोली आन्दोलनमा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता नखेल्ने घोषणा
चैत्र २७ । नेपाली राष्ट्रिय क्रिकेट टोली आन्दोलित भएको छ । क्रिकेट टोलीले नेपाल क्रिकेट संघ (क्यान) को नेतृत्व र पुरै व्यवस्थापन परिवर्तन नभएसम्म कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता नखेल्ने घोषणा समेत गरेको छ ।
कप्तान पारस खड्का उपकप्तान ज्ञानेन्द्र मल्ल, खेलाडीहरु शरद भेषावकर, सुवास खकुरेल, बिनोद भण्डारी, शक्ति गौचन, बसन्त रेग्मी, अमृत भट्टराई, प्रदिप ऐरि, अभिनाश कर्ण, सागर पुन, नरेश बुढाएर, राहुल बिक र सोमपाल कामी उपस्थित पत्रकार सम्मेलनमा यस्तो घोषणा सुनाइएको हो ।
पत्रकार सम्मेलनमा कप्तान खड्काले १०/१२ दिनअघि क्यान र आफूहरुबीच बैठक बस्दा आफ्नो माग राखेको र त्यसमा क्यानले सहमति जनाए पनि आजसम्म कुनै प्रतिक्रिया नआएपनि बाध्य भएर राष्ट्रिय क्रिकेट बहिष्कार गरेको बताए ।
कप्तान खड्काले वर्तमान क्यान असक्षम रहेकोले भन्दै नयाँ ब्यवस्थापन चाहिएको समेत जनाए ।
खेलाडीहरुले सरकारले सकारात्मक निर्णय नगरे केही दिनपछि मलेसियामा हुने एसीसी प्रिमयिर क्रिकेट प्रतियोगिता नखेल्ने घोषणा समेत गरेका छन् ।
विगत सात महिनादेखि आफूहरुले तलब नपाएको भन्दै खेलाडीहरुले पछिल्ला तीनवटा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदाको भत्ता समेत नपाएको बताएका छन् ।
क्यानको लापरबाही र असक्षमताका कारण लाखौं विदेशी सहयोग जरिवाना बापत तिर्नुपरेको भन्दै राष्ट्रिय क्रिकेट खेलाडीहरुले क्रिकेट संघको आर्थिक अपारदर्शिताबारे छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह समेत गरेका छन् ।
प्रकाशित मिति:
April 10, 2014