रमेश खरेलका विरुद्ध खनिए महेश बस्नेत
चैत्र २५ । एमालेको भातृ संस्था युवा संघ नेपालका कन्द्रीय अध्यक्ष महेश बस्नेतले वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश खरेलको अपराध नियन्त्रण अभियानलाई सिंघम स्टाइलमा गरिएको नाटक मात्र भएको आरोप लगाएका छन् ।
उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले खरेल सेलीब्रेटी बन्न खोजेको भन्दै उनको आलोचना गरेको केही दिनपछि वस्नेतले यस्तो आरोप लगाएका हुन् ।
युवा संघ नेपालको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकलाई शनिवार धुलिखेलमा सम्वोधन गर्दै गौतमले अपराधीलाई पक्रिने अनि दुई/तीन दिनमा छोड्ने खरेलको प्रवृत्ति अपराधी उन्मुक्ति दिने तरिका भएको भन्दै खरेल सेलीब्रेटी बन्न खोजेको आरोप लगाएका थिए । एसएसपीले आफुसँग भेट गर्न आएको समेत उनले गुनासो गरेका थिए ।
४ दिनसम्म धुलिखेलमा चलेको संघको बैठकका निर्णय सार्वजनिक गर्न मंगलबार एमाले जिल्ला पार्टी कार्यालय बनेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै खरेलले सिंघम स्टाइलमा नाटक मात्र गरेको आरोप लगाएका हुन् । खरेलले प्रहरीको बर्दी लगाएर राजनीति गर्न खोजेको बस्नेतको आरोप थियो । ‘खरेलको कामले प्रहरीको ‘चेन अप कमाण्ड’ ध्वस्त भई प्रहरीमा अराजकता बढ्ने खतरा हुन्छ,’ बस्नेतले भने, ‘हिम्मत भए पूर्व सभासद् बालकृष्ण ढुङगेललाई पक्राउ गरेर देखाउन खरेललाई चुनौती दिन्छु ।’ गृहमन्त्रीलाई असफल गराउन खरेललगायत केही प्रहरी लागि परेको उनका आरोप थियो ।
गृहमन्त्री बामदेव गौतमले बोलेका र थालेका कामहरुमा युवा संघको पूर्ण समर्थन रहेको उनले खुलासा समेत गरे । खरेल बागमती एसएसपीबाट काठमाडौं प्रहरी प्रमुखमा सरुवा भएको स्मरण गराउँदै बस्नेतले बागमतीमा हुँदा खरेलले सुन तस्कर र रक्तचन्दन कारोबारीलाई पक्राउ गर्न नसकेको दाबी गरे । रमेश खरेल वामदेवले घोक्रेठ्याक लगाएका पूर्व आइजिपी अच्युत खरेलका नातेदार भएको भन्दै त्यसको पूर्वाग्रह साँध्ने काम गरे परिणाम गलत आउँने सङ्केत गरे । खरेल जस्ता प्रहरी अधिकृत तह लगाउन गृहमन्त्रीलाई युवा संघले समर्थन गर्ने उनको भनाई थियो ।
प्रकाशित मिति:
April 08, 2014