राजनीतिक समितिको सभापतिमा बाबुराम भट्टराईको उम्मेदवारी, मस्यौदामा भने सिटौला
वैशाख ११ काठमाडौं । प्रमुख राजनीतिक दलहरुले संविधानसभा अन्तर्गत विषयगत समितिमा भागबन्डाका आधारमा पाँच वटा समितिका सभापतिहरुका लागि नाम दर्ता गराएका छन् ।
व्यवस्थापिका संसद भवनमा शुक्रबार हुने निर्वाचनका लागि विभिन्न पाँच समितिमा सभापतिका लागि बिहीबार उम्मेदवारी संविधानसभा सचिवालयमा दर्ता भएको छ ।
संविधानसभा सचिवालयको पूर्वनिर्धारित कार्यक्रम अनुसार शुक्रबार हुने समितिको निर्वाचनका लागि संविधान मस्यौदा समितिमा नेपाली काग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाको उम्मेदवारी परेको छ । उनको प्रस्ताकमा नेकपा एमालेका सभाषद भानुभक्त ढकाल छन् भने समर्थकमा गिरिराजमणि पोखरेल रहेका छन् ।
दलहरुबीचको आपसी समझदारी अनुसार संवैधानिक राजनीतिक संवाद सहमति समिति भने एमाओवादीको भागमा परेको छ । समितिको सभापतिका लागि एमाओवादी पूर्व उपाध्यक्ष डा. बाबुराम भट्टराईको उम्मेदवारी पनि बिहीबार नै दर्ता भएको संसद सचिवालायले जनाएको छ । भट्टराईको प्रस्तावक कांग्रेसका पूर्णबहादुर खड्का र समर्थकमा एमालेका सुरेन्दप्रसाद पाण्डे रहेका छन् । सोही समिति भने हरिचरण शाह प्रस्तावक र गोपाल दहित समर्थनमा रामकुमार राईको पनि उम्मेदवारी परेको छ ।
यसैगरी संविधान अभिलेख तथा निक्र्यौल समितिमा नेकपा (एमाले)का सचिव विष्णुप्रसाद पौडेलको उम्मेदवारी परेको छ । उनका प्रस्तावकमा कांग्रेसका बलबहादुर केसी र समर्थकमा एमाओवादीका हरिबोलप्रसाद गजुरेल रहेका छन् ।
क्षमता अभिवृद्धि समितिमा मधेसी दलका तर्फबाट लक्ष्मीकुमारी चौधरीको उम्मेदवारी परेको छ । उनका प्रस्तावकमा बद्रीप्रसाद पाण्डे र समर्थकमा सन्तकुमार दरै र जयन्तीदेवी राई रहेका छन् । नागरिक सम्बन्ध समितिको सभापतिमा साना दलका तर्फबाट नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेलाई आग्रह गरिएकोमा उनले अस्वीकार गरेका छन् ।
यस्तै, नागरिक सम्बन्ध समितिमा साना दलहरूका तर्फबाट प्रमिला राणाको उम्मेदवारी परेको छ । उनका प्रस्तावकमा ममता गिरी र समर्थकमा चिनकाजी श्रेष्ठ रहेका छन् ।
उम्मेदवारी दर्तापछि पत्रकारहरुसग बोल्दै कांग्रेस महामन्त्री सिटौलाले माघको पहिलो सातामा संविधान जारी गरिने उल्लेख गरे । संविधानका सम्बन्धमा उत्पन्न विवाद दलहरूबीच सहमति कायम गर्दै समाधान गरिने र राज्यको मुख्य एजेण्डाका रुपमा रहेको संविधान निर्माणलाई निष्कर्षमा पुर्याइने उनको भनाई छ ।
यता, पूर्वप्रधानमन्त्री समेत रहेका डा भट्टराईले प्रमुख दलहरूले एक अर्का दलका प्रस्तावक तथा समर्थक राखेर एकताबद्धरुपमा उम्मेदवारी दर्ता गरेको जनाउदै संविधानसभाभित्र र बाहिर रहेका सबै राजनीतिक दललाई सहमतिमा ल्याएर संविधान निर्माण गर्नेतर्फ आफ्नो सक्रियता रहने बताए ।
प्रकाशित मिति:
April 24, 2014