एमाओवादीलाई विवाद मिलाउन विराटनगरमा हम्मेहम्मे
वैशाख २२ विराटनगर । एकीकृत नेकपा माओवादीको विराटनगरमा जारी केन्द्रीय समिति बैठक नेतृत्व चयनका विषयमा विवाद सिर्जना हुदा अन्यौलमा परेको छ ।
सम्मेलनको चौथो दिन सोमबार बन्दसत्र नै सुचारु हुन सकेन । केन्द्रीय समिति चयनमा नेताहरुबीचको विवादका कारण बन्द सत्र नै सुचारु हुन नसकेको हो ।
सोमबार दिनभर सम्मेलन आयोजक समितिको बैठक बसेको थियो । त्यस्तै साझ पूर्वस्थायी समितिको बैठक बसेर सर्वसहमतिमा नेतृत्व चयनको पहल गरेको छ । जारी बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहालद्धारा प्रस्तुत गरिएको प्रतिवेदन विभिन्न २२ समूहले छलफल गरेर सुझाव पेस गर्ने क्रममा केही समूहले प्रतिवेदनको विरोध समेत जनाएका थिए । दाहालले बन्द सत्रमा राखेको प्रस्तावप्रति पूर्वउपाध्यक्षद्धय डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ तथा पूर्वमहासचिव पोष्ट बहादुर बोगटी लगायतले असन्तुष्टि जनाएका छन् ।
नेतृत्व चयनका लागि आयोजक समितिको बैठकमा अध्यक्ष दाहालले ९९ सदस्यीय केन्द्रीय समिति बनाउने नामावलीप्रति उनीहरुले विरोध गरेका हुन् । बैठकमा बोल्दै भट्टराईले उक्त प्रस्ताव चित्त नबुझेको बताएका छन् । बैठकमा उनले विश्वमा कम्युनिष्ट पार्टीहरु किन कमजोर भए ? किन विघटन हुँदैछन् र कम्युनिष्ट पार्टीले लिनुपर्ने कार्यदिशा के हो ? आदि विषयमा अनुसन्धान गर्ने इच्छा भएको भन्दै अध्यक्षप्रति व्यंग्य गरेका थिए ।
यता, एमाओवादी बन्दसत्र दुईदेखि अन्यौलमा परेपछि देशभरबाट आएका प्रतिनिधिहरु भने निराश बनेको पाइएको छ । पार्टीलाई गतिशिल र चुस्त बनाउने भन्दै सुरु भएको सम्मेलनप्रति प्रतिनिधिहरु नै असन्तुष्टि जनाएका छन् । उनीहरुले आफूहरुलाई नेतृत्वले गुमराहमा राखेर भागबन्डा गर्न खोजेको आरोप समेत लगाएका छन् ।
बन्दसत्रमा सहभागी प्रतिनिधिहरुले प्रत्यक्ष निर्वाचनको माग गरेपनि नेताहरु भने सर्वसम्मतकको प्रयास जारी राखेका छन् ।
प्रकाशित मिति:
May 05, 2014