अझै प्रचण्ड-बाबुराम विवाद गाँठोमा एमाओवादी
वैशाख ३१ काठमाडौं । विराटनगरमा सम्पन्न एमाओवादीको राष्टिय सम्मेलनबाट टाढिन पुगेका अध्यक्ष पुष्पकमल दाहाल र पूर्वउपाध्यक्ष डा. बाबुराम भट्टराईबीच कसरी विवाद मिलाउन सकिन्छ भन्ने विषयमा छलफल भएको छ ।
राष्टिय सम्मेलनमा दाहालसग असन्तुष्टि जनाउदै केन्द्रीय समितिमा बस्न अस्वीकार गरेका भट्टराई पक्षधर नेताहरुलाई अध्यक्ष दाहालले निरन्तर रुपमा भेटघाट गर्ने क्रम जारी राखेका छन् ।
केही समयअघि टोप बहादुर रायमाझी, देवेन्द्र पौडेलसग भेट गरेका अध्यक्ष दाहालसग बुधबार भट्टराईको भेटवार्ता भएको छ । अध्यक्ष दाहाल निवास लाजिम्पाटमा भएको भेटमा दाहालले शुक्रबारदेखि सुरु हुने केन्द्रीय समितिको बैठकमा आउन र केन्द्रीय समितिमा बस्न आग्रह गरेका थिए । जवाफमा भट्टराईले भने सांगठनिक रुपान्तरणको भरपर्दो आधार नभएसम्म केन्द्रीय समितिमा नफर्कने बताएको स्रोतले जनाएको छ ।
अध्यक्ष दाहाल स्टालिन शैलीमा अघि बढेको भट्टराईको ठम्याई छ भने भट्टराईले भने पार्टी कब्जा गर्न खोजेको दाहाल पक्षधरको दाबी छ । मुख्यतयाः एमाओवादीमा कार्यदिशाको लडाई भन्दा पनि नेतृत्वको विषयमा विवाद रहदै आएको छ ।
विराटनगरमा सम्पन्न सम्मेलनमा भट्टराई पक्षीय झण्डै दुई दर्जन केन्द्रीय समितिले आफ्नो नाम फिर्ता लिएपनि दाहाल पक्षधरले भने उनीहरु बिना नै दाहाललाई नै पुनः अध्यक्ष बनाउदै केन्द्रीय समिति घोषणा गरेका थिए ।
त्यसपछि दाहाल र भट्टराईबीच पहिलो पटक भेटवार्ता भएको हो । बुधबारको भेटमा राजनीतिक र वैचारिक विषयमा छलफल भएको दाहालको सचिवालयले जनाएको छ । दुई नेताबीच सांगठनिक विषयमा पुनः बिहीबार छलफल हुने सहमति समेत भएको छ ।
शुक्रबारदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा भट्टराईलाई समेत कसरी समेटेर लैजाने भन्नेमा दाहाल लागेका छन् भने आफू पक्षधर नेताहरु कसरी बढी भन्दा बढी केन्द्रीय समितिमा पार्न सकिन्छ भन्नेमा भट्टराईको ध्याउन्न रहेको स्रोत दाबी गर्छ ।
प्रकाशित मिति:
May 14, 2014