च्याम्पियन बन्न नेपाल चुक्यो, अफगानिस्तानसँग १०८ रनले पराजित
वैशाख २४ । मलेसियामा जारी एसीसी प्रिमियर लिग च्याम्पियन अन्तर्गत बुधबार भएको खेलमा नेपाल अफगानिस्तानसँग १०८ रनले पराजित भएको छ । उक्त हारसँगै च्याम्पियनसिप बन्ने दौडबाट नेपाल बाहिरिन पुगेको छ ।
टस हारेर व्याटिङ निम्तो पाएको अफगानीस्तानले ४९ ओभर ३ बल खेलेर २६२ रन बनाएको थियो । नेपालको लागि शक्ति गौचन र बसन्त रेग्मीले ३-३ विकेट लिए भने आरिफ सेखको नाममा २ विकेट रह्यो ।
जवाफी ब्याटिङ गर्ने क्रममा नेपालको खेल कमजोर रहन पुग्यो । डकवर्थ लुइस नियमको आधारमा ३२ ओभरमा २ सय ३७ रनको नयाँ चुनौती लिएर मैदानमा उत्रिएको नेपालले ९ विकेट गुमाएर १ सय २८ रनमात्र बनाउन सक्यो ।
ओपनर सुवास खकुरेल र नरेश बुढाएरले क्रमश ८ र १० रन बनाउँदै आउट भए भने ज्ञानेन्द्र मल्ल पनि १५ बल खेल्दै ११ रनमा आउट हुन पुगे ।
कप्तान पारस खड्काले ३३ रन बनाए पनि शरद् भेषवाकर शून्यमा आउट भए । शक्ति गौचनले र सोमपाल कामीले समान १९ रन जोडे । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
आज नेपालले हार बेहोरे पनि यसअघि नै डिसेम्बरमा हुने दूई दिवसीय प्रतियोगिता एसीसी च्याम्पियनसिपको लागि छनोट भइसकेको छ ।
प्रकाशित मिति:
May 07, 2014