निर्वाचन आयोगका प्रवक्ता राईलाई पितृशोक, नयाँ प्रवक्तामा न्यौपाने
काठमाडौँ, २८ जेठ । निर्वाचन आयोगका प्रवक्ता वीरबहादुर राईलाई पितृशोक परेको छ । उहाँका पिता रामबहादुर राईको ९५ वर्षको उमेरमा इलाम जिल्लाको जोगमाई गाउँ विकास समिति वडा नं ५ स्थित घारे गाउँमा गएराति निधन भएको हो ।
स्वर्गीय राईको पाँच छोरा र एक छोरी हुनुहुन्छ । लामो समयदेखि समाजसेवामा क्रियाशील स्वर्गीय राईको राई संस्कृतिअनुसार आज अन्त्येष्टि गरिने छ । पिसाब र पेटको रोगबाट पीडित राई काठमाडौँमा उपचारपछि केहीदिन अघिमात्रै घर फर्किएका थिए ।
निर्वाचन आयोगले प्रवक्ता राईका पिताको निधन भएकोमा दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको ।
आयोगको प्रवक्तामा न्यौपाने
निर्वाचन आयोगले प्रवक्ता राईलाई पितृशोक परेकाले आगामी असार ८ गते सम्पन्न हुन लागेको उपनिर्वाचनलाई ध्यानमा राखी आयोगका सहसचिव महेश्वर न्यौपानेलाई प्रवक्ताको जिम्मेवारी तोक्ने निर्णय गरेको छ ।
प्रकाशित मिति:
June 11, 2014