तराजुमा चुम्बक राख्ने व्यापारीलाई दुई हजार जरिवाना
सोलुखुम्बु, ७ साउन । सामान जोख्ने ढक तराजुमा चुम्बक राखी नापतौलमा ठगी गर्ने सल्लेरी–५ वसन्त बजार निवासी चोजराज निरौलालाई जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले रु दुई हजार जरिवाना गर्ने निणर्य गरेको छ ।
केही दिनअघि बजार अनुगमनका क्रममा निरौलाको पसलमा प्रयोग भएको ढक तराजुमा चुम्बक राखेर ठगी गरेको पाइएपछि अनुगमन टोलीले ढक तराजु जफत गरेको थियो ।
जिल्ला प्रशासन कार्यालयले सो ढक तराजु जफत गरी ठगी गर्ने निरौलालाई रु दुई हजार जरिवाना गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले जानकारी दिए ।
पछिल्लो समयमा जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले सदरमुकाममा अनुगमनलाई तीव्र बनाएको छ । अनुगमनका क्रममा हिजो पनि सदरमुकामका विभिन्न पसलबाट म्याद गुज्रिएका करिब एक क्विन्टल सामान जफत गरी नष्ट गरिएको थियो ।
प्रकाशित मिति:
July 23, 2014