तोकिएको समयमा संविधान आउछ : उपप्रधानमन्त्री सिंह
९ असोज । उपप्रधानमन्त्री, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले माघ ८ गतेभित्र संविधान जारी गर्ने तयारी भइरहेको बताउनुभएको छ ।
वडा दसैँ, दीपावली, नेपाल सम्वत् तथा छठ पर्वको अवसरमा नेपाली काँग्रेस निकट भ्रातृ सङ्गठन नेपाल दलित सङ्घद्वारा आज यहाँ आयोजित ‘शुभ–कामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उपप्रधानमन्त्री सिंहले सरकारको मुख्य उद्देश्य संविधान निर्माण भएको हँुदा त्यसलाई एक वर्षभित्र पूरा गर्नुपर्छ भन्नुभयो ।
जतिसक्दो चाँडो जनताको चाहनाअनुरुपको लोकतान्त्रिक संविधान जारी गर्न सकियो त्यतिनै चाँडो राजनीतिक स्थिरता कायम हुँदै मुलुक आर्थिक विकासको बाटोमा अगाडि बढ्ने उहाँको विश्वास रहेको छ ।
उहाँले भन्नुभयो,–‘दलित समुदायका अधिकारलाई आगामी संविधानमा सुनिश्चित गराउन दलित सङ्घ मात्र भन्दा पनि सबै राजनीतिक दलका दलित भ्रातृ सङ्ङ्गठनले एकीकृत भएर सङ्घर्ष गर्नुपर्ने अवस्था रहेको छ ।’
काँग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले राजनीतिक दल तथा नेताहरूको पछिल्लो गतिविधिलाई हेर्दा एक वर्षभित्रै संविधान जारी हुने सम्भावना बढ्दै गएको हुँदा सकारात्मक भूमिका निर्वाह गर्न सबैसँग आग्रह गर्नुभयो ।
उहाँले जातीय विभेद तथा छुवाछूतको अन्त्य पटक पटक कानुनी रुपमा गरिए पनि व्यवहारिकरुपमा हुन नसकेको अवस्थामा चेतनाका माध्यमबाट अन्त्य गरिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
काँग्रेस केन्द्रीय सदस्य तथा दलित सङ्घका अध्यक्ष मीन विश्वकर्माले सदियौँदेखि उत्पीडनमा पारिएको दलित समुदाय तथा महिला, मधेसी र मुस्लिम समुदायका अधिकारलाई संविधानमा सुनिश्चित गर्न माग गर्नु भयो ।
उत्पीडित जातीय मुक्त समाजका अध्यक्ष तथा सभासद् जीतु गौतम र एनेकपा (माओवादी) निकट भ्रातृ सङ्गठन नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका अध्यक्ष दलजीत श्रीमाइलीले राज्यका हरेक संरचनामा दलित समुदायको समान सहभागिता हुनुपर्नेमा जोड दिनुभयो ।
प्रकाशित मिति:
September 25, 2014