तस्करीमा चोरीका मोटरसाइकल प्रयोग, १७ चोरीका मोटरसाइकल नियन्त्रण
असोज २८ । विगत तीन महिनायता महाकाली अञ्चलमा खटिएको प्रहरीको अनुसन्धान टोलीले कञ्चनपुरका सीमा नाकामा हुने तस्करीमा चोरीका मोटरसाइकल प्रयोग गरेको पाइएको जनाएको छ ।
सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान टोलीले विगत दुई महिनामा १७ वटा चोरीका मोटरसाइकल नियन्त्रणमा लिएको छ । टोली प्रमुख प्रहरी नायब निरीक्षक वीरेन्द्र जोहारीले चोरीका अधिकांश मोटरसाइकल सीमाका गाउँबाट बरामद गरिएको जानकारी दिए ।
चोरीका मोटरसाइकल दिनमा लुकाइने र रातमा तस्करीमा प्रयोग गरिने गरेको उनले बताए ।
सीमा नाकामा चोरीका मोटरसाइकल तस्करीमा बढी प्रयोग हुन थालेपछि अनुसन्धान टोलीले त्यसतर्फ निगरानी बढाएको हो । भारतबाट चोरी गरी ल्याएका ती मोटरसाइकलमा जथाभावी नेपाली नम्बर हालेर चलाउने गरेको पाएइको जोहारीले बताए । उनले भने– “ती गाडीका ब्लुबुकसमेत दुरुस्त नक्कली बनाएको पाएइको छ ।”
अनुसन्धान टोलीले कञ्चनपुरको बेलौरीबाट पाँच, महेन्द्रनगर र आसपासका क्षेत्रबाट नौ र पिपलाडी र देखतभुली क्षेत्रबाट एक÷एक वटा चोरीका मोटरसाइकल नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकामध्ये १४ वटा गड्डाचौकी भन्सार कार्यालयमा चलान गरिएको छ । नियन्त्रणमा लिएका मोटरसाइकलमध्ये अधिकांशमा मनोमानी हिसाबले नेपाली नम्बर प्लेट हालिएको अनुसन्धान टोलीको भनाइ छ ।
सीमाक्षेत्रमा चोरीका मोटरसाइकलको कारोबार बढी हुने गरेको जनाउँदै टोलीले कञ्चनपुरमा अझै पनि २५/३० वटाभन्दा बढी मोटरसाइकल लुकीछिपी चलिरहेको सुराक पाएको जनाएको छ । “भारतबाट चोरेर ल्याएका नयाँ मोटरसाइकल पनि ५÷१० हजारमा किनबेच हुँदो रहेछ ।” जोहारीले भने– “चोरीको कारोबारमा युवापुस्ता बढी संलग्न रहेको छ ।” रासस
प्रकाशित मिति:
October 14, 2014