दार्चुलामा पहिलोपटक विदेशी पर्यटक
कात्तिक १३ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण त्रिदेशीय सीमा नाका रहेको दार्चुला पर्यटकका लागि गन्तव्य बन्न थालेको छ । दुई देशका तीन नागरिकले पहिलोपटक दार्चुलाको भ्रमण गरेका छन् ।
गएको असोजमा एकजना न्युजिल्यान्डका नागरिकले दार्चुलाको अपि नाम्पा संरक्षण क्षेत्रमा भ्रमण गरेकामा अहिले दुईजना बेलायती नागरिकले संरक्षण क्षेत्रमा भ्रमण गरिरहेका अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले जनाएको छ ।
संरक्षण क्षेत्रमा तेस्रो मुलुकका नागरिकले भ्रमण गरेको यो पहिलोपटक हो । यतिबेला बेलायती नागरिकले संरक्षण क्षेत्रको सिप्टी क्षेत्रमा भ्रमण गरिरहनुभएको संरक्षण क्षेत्रका निमित्त प्रमुख दिलीप बनले बताए ।
संरक्षण क्षेत्रमा राजस्व बुझाएर उनीहरु भ्रमणमा निस्केका हुन् । संरक्षण क्षेत्रमा भ्रमण गर्न विदेशी नागरिकले रु तीन हजार राजस्व बुझाउनुपर्ने बनले बताए । दार्चुला विदेशी पर्यटकका लागि गन्तव्य बन्न थालेपछि सम्भावनाको ढोका खुलेको भन्दै जिल्लाका व्यवसायीहरु खुसी भएका छन् ।
अपि तथा व्यास हिमाल, पवित्र तीर्थस्थल तपोवन, व्यास गुफा, खण्डेश्वरीको सीमसार क्षेत्र, तातोपानी तीर्थस्थल, राष्ट्रकै सातौँ धाम लेकम क्षेत्रको मालिकार्जुन मन्दिर जिल्लाका प्रमुख पर्यटकीय गन्तव्य हुन् ।
पछिल्लो समय दार्चुला विदेशी पर्यटकका लागि गन्तव्य बन्न थाले पनि पूर्वाधार निर्माणको अभावमा भने यहाँको पर्यटन फस्टाउन सकेको छैन ।
प्रकाशित मिति:
October 30, 2014