सूचना माग्दा थुनामा राखेपछि उल्टै प्रहरीद्धारा नै कसैलाई नभन्न धम्की
भूषण यादव
मंसिर २३ - पर्सा गम्हरियाका एक युवक सरकारी कार्यालयमा सूचना माग्न जाँदा २४ घन्टा प्रहरी हिरासतमा बस्नु परेको घटना उजागर भएको छ । मुलुकमा ७ वर्ष देखि सूचनाको हक सम्बन्धि ऐन २०६४ लागू भइसकेको छ । वीरगन्जको हरिखेतान बहुमुखी क्याम्पसमा कक्षा १२ मा अध्ययनरत लक्ष्मण सर्राफ शुक्रबार निवेदन सहित कृषि कार्यालयमा सूचना माग्न गएका थिए ।
कार्यालयमा सूचना अधिकारीलाई सम्बोधन गरिएको व्यहोरा सहित १० रुपैयाँको टिकट टाँसेर उनले गत आर्थिक वर्ष कार्यालयमा आएको बजेट कुन गाविसमा कति खर्च भएको जानकारी माग गरेको बताए । ‘सूचना अधिकारी नभेटिएपछि कार्यालय प्रमुख दिनेश राय यादवको कार्यकक्षमा पुगे,’ कान्तिपुरसित सर्राफले भने । उनले प्रमुखलाई निवेदन दर्ताका लागि तोक लगाइदिन आग्रह गरे ।
‘सूचना अधिकारीलाई सम्बोधन गरिएको पत्रमा हाकिमले तोक लगाउन नमिल्ने, बजेटबारे थाहा पाएर के गर्छौ लगायतका अनेक बहाना बनाउँदै हाकिमले तोक लगाउन नमानेपछि के कारणले तोक लगाउन नमिल्ने लिखितमा मागेपछि उनी म माथि जंगिए,’ उनले सुनाए । केहीबेर अपशब्ध प्रयोग गरेपछि वाहिर बस्न भने । केही बेरमा कार्यालयमा आएको प्रहरीको ‘टाइगर’ टोलीले गाली गर्दै जिल्ला प्रहरीको थुनुवा कोठामा पर्याए ।
‘मोबाइलबाट घरपरिवारमा फोन गर्न खोज्दा अफ गरी पकेटमा हाले,’ ४ दिन अघिको घटना सुनाउँदै सर्राफले भने, ‘सूचना मागेर ठूलै गल्ती पो गरेको छु जस्तो लाग्न थाल्यो ।’ राति करिब १० बजे डीएसपीले आएर मापसे चेकजा“चका लागि पठाउन आदेश दिए । ‘नारायणी उपक्षेत्रिय अस्पतालका चिकित्सकले मापसे सेवन नगरेको जनाएपछि मलाई पुनः थुनुवा कोठामा राखियो,’ उनले भने, ‘भोलिपल्ट २ बजेतिर अभिभावक बोलाएर जिम्मा लगाए ।’ रिहा गर्ने बेलामा प्रहरीले नेपाली कागजमा हस्ताक्षर गर्न आदेश दिएपछि कागजमा के लेखिएको छ भनेर पढ्न खोज्दा अपशब्द प्रयोग गरे ।
पक्राउ गरेका प्रहरीले घटनाबारे कसैलाई नभन्ने धम्की दिएका थिए । मानसिक पीडा सह्न नसकेर ४ दिनपछि मिडियालाई गुहारेको उनले सुनाए । ‘संविधानले दिएको अधिकारी प्रयोग गर्दा २४ घन्टा थुनामा बस्नु पर्यो,’ उनले भने, ‘आफ्नै गाउँमा कृषिबाट बजेट निकासा भएको तर काम नभएको पाएपछि सूचना माग्न गएको थिए“ ।’ कृषिका हाकिमले सर्राफ सहितको समूहले गालीगलौज गर्दै धम्की दिएको उजुरी दिएपछि निजलाई पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक (डीएसपी) यादव बहादुर घर्तीले बताए । ‘कार्यकक्षमा असुरक्षित रहेको लिखित उजुरी नै दिएपछि पक्राउ गरेका हौ“,’ उनले भने, ‘भोलिपल्ट अभिभावकको जिम्मा लगायौं ।’ मगंलबार कार्यालयमा नभेटिएका कृषि प्रमुखलाई मोबाइलमा पटक पटक फोन गर्दा सम्पर्कमा आउन चाहेनन् । -इकान्तिपुर डटकमबाट
प्रकाशित मिति:
December 09, 2014