२ महिनामा पनि भूकम्प पीडितले सरकारी राहत पाएनन्
असार । चितवनको विकट क्षेत्रका भूकम्पपीडितले भूकम्प गएको दुई महिना बित्दा पनि अझै सरकारी राहत पाउन सकेका छैनन् ।
अहिले राहत रकम उपलब्ध नहुँदा वास्तविक पीडित झन् पीडित भएका छन् । चितवनको दारेचोक सोराथोकका स्थानीय हरि गुरुङले राहत नपाएको भन्दै दुखेसो गरे ।
सबै घर ढलेर अहिले अस्थायी टहरामा बसिएको भएपनि सरकारी निकायको राहत नआइपुगेको उनको भनाइ छ । घर पूर्ण क्षति भएकालाई सरकारले रु १५ हजार दिने व्यवस्था गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिले गाविसको खातामा पैसा पठाएपछि अपुग रकम भन्दै गाविसले बाँड्न सकेको छैन ।
पहिलो चरणमा गरिएको गणनामा ६१० घरधुरी पूर्ण क्षति भएको विवरण सङ्कलन गरिएकोमा दोस्रो पटक पुनः अनुगमनमा थप ६१८ घर पूर्णक्षति भएको विवरण आएपछि राहत वितरणमा समस्या भएको छ ।
जिल्लाको पहाडी क्षेत्रमा सबैभन्दा बढी क्षति भएको गाविस दारेचोक हो । चितवनको दारेचोकमा दोस्रो चरणमा गरिएको पुनः विवरण सङ्कलनमा पूर्ण क्षतिको विवरण दोब्बर बढेको छ ।
कुल एक हजार २२८ घरधुरी पूर्णक्षति र आंशिक क्षति २०० भन्दा बढीलाई आवश्यक पर्ने रकम उपलब्ध हुन नसक्दा दारेचोकमा समस्या परेको गाविस सचिव नीलकण्ठ लामिछानेले बताए । यसका कारण राहत वितरण रोकिएको छ ।
“पहिलेको तथ्याङ्कअनुसार राहत रकम करिब रु ५५ लाख आएको थियो, अहिले सबैलाई राहत दिनका लागि रु दुई करोड ७९ लाख लाग्ने भयो, त्यसैले राहत बाँड्न नसकिएको हो”, सचिव लामिछानेले भने ।
उक्त गाविसको धुसा, तीनघरे, वरेक र तल्लो डुँडेका ५८ घर स्थानान्तरणका लागि कुरिनटारको सर्वशान्ति मावि क्षेत्रमा राख्ने निर्णयसमेत अहिले विवादित भएको छ ।
आफ्नो क्षेत्रमा राख्न नहुने उच्च माविले बताउँदै आएको छ । चितवनमा अहिलेसम्म २३ हजार घर क्षति भएको तथ्याङ्क छ । अन्य गाविसमा समेत यस्तै समस्या रहेको बताइएको छ । रासस
प्रकाशित मिति:
July 07, 2015