फ्री भिसा, फ्री टिकट विरुद्ध उत्रिएका व्यवसायीको आन्दोलन तुहिने अवस्थामा
काठमाडौं २९ असार । निःशुल्क विदेश कामदार पठाउने सरकारी निर्णयको विरुद्ध आन्दोलनमा उत्रिएका व्यवसायीहरुको आन्दोलन तुहिने अवस्थामा पुगेको छ ।
अदालतबाट फ्री भिसा, फ्री टिकटमा अन्तरिम आदेश नहुनु, कुनै पनि राजनीतिक पार्टी आन्दोलनका पक्षमा नउभिनु तथा मेनपावर व्यवसायीले नै फ्री भिसा, फ्री टिकटको पक्ष लिनु जस्ता कारणले वैदेशिक रोजगार व्यवसायीको आन्दोलन संकटमा परेको हो ।
पुनरावेदन अदालत पाटनले फ्री भिसा, फ्री टिकटसम्बन्धी श्रम तथा रोजगार मन्त्रालयले गरेको निर्णय रोक्न वैदेशिक रोजगार व्यवसायीले दायर गरेको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।
कानुनी तवरबाट साथ नपाएका व्यवासायीको एजेण्डालाई कुनै पनि राजनीतिक पार्टीले साथ दिएका छैनन् ।
यता, उनीहरुको आन्दोलन पनि सेलाउँदै गएको केही व्यवसायी नै स्वीकार गर्छन् ।
संघमा आबद्ध सात सय ५१ व्यवसायीमध्ये केहीले सरकारले गरेको फ्रि भिसा, फ्रि टिकटको स्वागत गर्दै साथ दिएका छन् भने केही व्यवसायी आन्दोलनमा छन् ।
आन्दोलनमा साथ दिएका व्यवसायीले पनि पहिलो तीन दिनसम्म सामान्य उपस्थिति जनाए पनि पछिल्लो समयमा उपस्थितमध्ये ४५ देखि ५० प्रतिशत व्यवसायीले मात्र सहभागी जनाएर बाँकीले कर्मचारी, श्रम प्रतिनिधि पठाउन थालेका छन् ।
सरकारले बहराइन, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), ओमान, कुबेत र मलेसियाका लागि कामदार पठाउँदा फ्रि भिषा, फ्रि टिकट अनिवार्य व्यवस्था गरेको थियो । त्यसको चौतर्फी समर्थन भएपनि व्यवसायीले भने विरोध गरेका हुन् ।
प्रकाशित मिति:
July 14, 2015