३ वर्ष अगाडीको सरकारी निर्देशन स्कुल/कलेजले अझै टेरेनन्
काठमाडौं २९ असार । तीन वर्षअघि नै सरकारले विदेशी नामबाट सञ्चालित विद्यालय तथा कलेजलाई नाम परिवर्तन गर्न भने पनि त्यस्ता कलेज तथा विद्यालयले सरकारी आदेशको अवज्ञा अझै गरिरहेका छन् ।
सरकारले ०६९ मा विदेशी नामबाट सञ्चालित निजी विद्यालय तथा कलेजको नाम नेपालीपन झल्कने राख्न निर्देशन दिएको थियो । तर, दर्जनौं स्कुल तथा कलेजले अझै पनि विदेशी नाम राखेर सरकारी आदेशको धज्जी उडाईरहेका छन् ।
उच्चमाध्यमिक शिक्षा परिषद् र शिक्षा विभागले आचारसंंहिता बनाएर नै विदेशी नामका विद्यालय तथा कलेजको नाम ६ महिनाभित्र परिवर्तन गरिसक्नुपर्ने निर्देशनको पालना अझै पनि भएको छैन ।
परिषद्ले आचारसंहिता तथा विभागले संस्थागत विद्यालय सञ्चालन निर्देशिका बनाएर विदेशी नामका कलेजलाई नेपाली नाम परिवर्तन गर्न निर्देशन दिएको थियो ।
राजधानीमा गोल्डेनगेट, लिभरपुल, नासा, चेल्सी, टेक्सास, मोर्गन, बनहार्टलगायत १९ कलेज विदेशी नामबाट सञ्चालित छन् । निजी विद्यालय तथा कलेजले विदेशी नामबाट सञ्चालित कलेजको ब्रान्ड बनिसकेकाले परिवर्तनको पक्षमा छैनन् । अधिकांश निजी कलेज वैज्ञानिकको नाम, फुटबल क्लब तथा ठाउँ विशेषका विदेशी नामबाट सञ्चालित छन् ।
प्रकाशित मिति:
July 14, 2015