राज्यले तानाशाही चरित्र उजागर गर्यो : मोहन वैद्य
काठमाडौं । नेकपा–माओवादी अध्यक्ष मोहन वैद्य किरणले राज्यले तानाशाही चरित्र उजागर गरेको आरोप लगाएका छन् ।
नयाँ संविधानको मस्यौदाको विरोधमा गरिएको दुई दिने शान्तिपूर्ण बन्दमा कार्यकर्ता गिरफ्तार गरेर झुट्टा मुद्धा लगाएको भन्दै अध्यक्ष किरणले सरकारको आलोचना गरेका हुन् । बन्दपछि ३३ दलीय मोर्चाको तर्फबाट विज्ञप्ति जारी गर्दै उनले पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्तालाई तत्काल रिहा गर्न माग गरेका छन् ।
अध्यक्ष किरणले मस्यौदा संविधानको विरोधमा भइरहेका आन्दोलनहरूप्रति पार्टीको नैतिक समर्थन जारी रहने प्रतिवद्धता समेत जनाएका छन् ।
दुई दिने नेपाल बन्द सफलतापूर्वक सम्पन्न भएको भन्दै उनले ३१ गतेको बन्द कार्यक्रममा काठमाडौंमा नेकपा–माओवादीका पीबीएम क. अमृता थापा मगर लगायत देशका विभिन्न भागहरूमा सयौं नेता–कार्यकर्ता गिरफ्तार गरिएको, बन्दको तयारीको सिलसिलामा मशाल जुलुस पर्दशन गर्दा जाजरकोट केन्द्रीय समिति सदस्य क. ढकवीर रानासहितका साथीहरूमाथि अश्रुग्यास प्रहार गरी घाइते बनाउने काम भएको त्यसैगरी, मकवानपुर लगायतका जिल्लाहरूमा पनि दर्जनौं आन्दोलनकारीमाथि निर्मम दमन गर्ने काम गरिएको छ । ३१ गते नै जुम्लामा स्वायत्त प्रदेशको माग गर्दै सङ्घर्षमा उत्रिएका जनसमुदायमाथि अन्दाधुन्द गोली वर्षाइएको र हरिबहादुर कुँवर लगायतका दर्जनौंलाई घाइते बनाइएको उल्लेख गरेका छन् ।
३१ गतेको बन्दमा पक्राउ परेका माओवादीका केन्द्रीय सदस्य बद्री बजगाईंसहितका अन्य नेता कार्यकर्तालाई झुठ्ठा मुद्दा लगाइएको भन्दै अध्यक्ष वैद्यले मुद्धा फिर्ता लिएर रिहाई गर्न भनेका छन् ।
सोमबार पनि पार्टी केन्द्रीय सदस्य शिवराम यादव, सुरेश श्रेष्ठसहित सयौं नेता तथा कार्यकर्ताहरूलाई गिरफ्तार गरिएको भन्दै उनले पक्राउ परेका सबै नेता कार्यकर्तालाई बिनाशर्त रिहाई गर्न माग गरेका छन् ।
प्रकाशित मिति:
August 17, 2015