सुर्खेत घटनाका मृतकका परिवारलाई दश लाख
३२ साउन । उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सुर्खेत घटनामा मृत्यु भएका मृतकका परिवारलाई रु १० लाख क्षतिपूर्ति र घाइतेलाई निःशुल्क उपचार गर्ने प्रबन्ध सरकारले मिलाएको बताएका छन् ।

व्यवस्थापिका–संसद्को सोमबारको बैठकमा गृहमन्त्री गौतमले मुलुकमा विभिन्न भागमा घटेका घटनाका बारेमा सदनलाई जानकारी दिने क्रममा उनले सुर्खेतको अवस्था सामान्य बन्दै गएको र सरकार शान्ति सुरक्षा कायम गर्न प्रतिबद्ध रहेको जानकारी गराए ।
उनले साउन २८ गते राति ९ बजे कास्की लेखनाथ नगरपालिका–१३ मा रामजी पौडेल बादलमाथि साङ्घातिक आक्रमण गरेको आशङ्कामा राजु रानाभाट र राजेन्द्रमणि लामिछानेलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।
काठमाडौँ बबरमहलमा साउन २९ गते राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाको नेतृत्वमा भेला भएका प्रदर्शनकारीले सवारी साधनमा ढुङ्गामुढा गर्दा स्थिति नियन्त्रणमा लिन प्रहरीले बाध्य भई बल प्रयोग गर्नुपरेको गृहमन्त्री गौतमले सदनलाई जानकारी दिए ।
उनले नवलपरासीमा थरुहट सङ्घर्ष समितिले गरेको विरोधका क्रममा प्रदर्शनकारीले दुईवटा सवारीमा आगजनी, तोडफोड गरेकाले प्रहरीले सामान्य बल प्रयोग गरेको, ३१ दलले आइतबार गरेको बन्दको सामान्य प्रभाव परेको र जबर्जस्ती बन्द गराई हिँड्नेलाई नियन्त्रणमा लिई छाडिएको अवगत गराए ।
प्रकाशित मिति:
August 17, 2015