कसैको आन्दोलनले संविधान रोकिदैन : प्रचण्ड
- सिमांकनको विषय अझै सच्याउन मिल्छ, मस्यौदामा सच्चिएर पनि आउन सक्छ ।
- जनतालाई फड्काएर फाइदा लिने समूहसँग सचेत हुनुहोस्
- नयाँ संविधान सुनिश्चित भईसकेको छ, कसैको विरोध वा आन्दोलनले अब संविधान रोकिनेवाला छैन ।
हेलोखबर संवाददाता
काठमाडौं २५ साउन । एकीकृत नेकपा माओवादी अधयक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतालाई फड्काएर फाइदा लिने समूहसँग सचेत हुन आग्रह गरेका छन् । नयाँ संविधान जारी हुन लागेको अवस्थामा जनतालाई भड्काएर फाइदा लिने समूह सक्रिय रहेको भन्दै प्रचण्डले सबै सचेत हुनुपर्ने बताए ।
नयाँ संविधान सुनिश्चित भईसकेको भन्दै प्रचण्डले अब कसैको विरोध वा आन्दोलनले पनि संविधान नरोकिने बताएका छन् । तर सिमांकनको विषय भने अझै सच्याउन मिल्ने उनले बताए । ६ प्रदेशको सीमांकन संशोधन र परिमार्जन हुन सक्ने उनको भनाई थियो । सीमांकनबारे आएका असन्तुष्टिहरुलाई सम्वोधन गर्ने र संविधानको अन्तिम मस्यौदा आउँदा सच्याएर आउने उनले बताए ।
नेपाल पत्रकार महासंघको टोलीसँग सोमबार राजधानीमा प्रचण्डले मस्यौदा संशोधनको पर्याप्त समय भएकाले अहिले नै कोही पनि आत्तिन नपर्ने समेत बताए । उनले भने, ‘हामीसँग संविधानको मस्यौदा सच्याउन अझै समय बाँकी छ, त्यसैले अहिले कोही पनि भड्काउमा नलागौं ।’
अहिले सिमांकनमा आएका विरोध र असन्तुष्टीहरु मस्यौदा आउँदा सच्चिएर आउन सक्ने पनि उनले बताए । यसलाई अन्तिम सिमांकनको रुपमा प्रचार गरेर जनतालाई भड्काउने काम नगर्न उनले सबैसँग अपिल पनि गरेका छन् । प्रचण्डले भने, एकथरी यसलाई अपरिवर्तनीय धाराजस्तो मानेर जनता भड्काउन लागेका छन् । यसमा सबै सचेत हुनुपर्छ ।
प्रचण्डले अब संविधान कुनै पनि हालतमा नरोकिने बताउँदै नयाँ संविधान सुनिश्चित भईसकेको दाबी समेत गरे । उनले भने, कसैको विरोध वा आन्दोलनले अब संविधान रोकिनेवाला छैन ।’
प्रचण्डले सबैलाई आ–आफ्ना सुझाव र असन्तुष्टि पार्टीको च्यानल मार्फत् पठाउन सबैलाई सुझाव समेत दिए । ‘जनताको भावनालाई भड्काएर फाइदा लिने कोशिस भैरहेका छन्’, प्रचण्डले भने, ‘यस्तो बेला हामी सबै सचेत हुनुपर्छ, आफ्नो पार्टीको च्यानल मार्फत् असन्तुष्टि र सुझाव राखौं ।’
पत्रकार महासंघको टोलीलाई प्रचण्डले जनताको भावना भड्काएर फाइदा लिन खोज्ने गलत तत्वहरुलाई बल पुग्ने खालका समाचार तथा सामग्री मिडियबाट पनि दिन नहुने सुझाव समेत दिएका छन् । अराजकतालाई बल पुग्ने काम मिडियबाट पनि दिन नहुने उनको भनाई छ ।
भेटमा पत्रकार महासंघको टोलीले संविधानमा भएका प्रतिबन्धात्मक वाक्यांश हटाउन माग गरेको छ । प्रचण्डले संविधान जारी हुँदा मागको उचित सम्वोधन हुने आश्वासन दिएका छन् ।
प्रकाशित मिति:
August 10, 2015