विमानस्थलमा एयरमार्सल राख्न दिनु जनघात र राष्ट्रघात : विप्लव
काठमाडौं ११ माघ
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भारतीय हवाई सुरक्षा बल (एयरमार्सल) राख्न दिने सरकारी निर्णयको विरोध गरेको छ । सरकारको उक्त निर्णय लज्जास्पद, राष्ट्रघात र आत्मसमपर्ण भएको समेत माओवादीले औंल्याएको छ ।
पार्टी महासचिव चन्दले मंगलबार एक विज्ञप्ति जारी गर्दै भारतले यसअघि पनि पटक पटक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एयरमार्सल राख्न खोजेपनि दलहरुले रोकेको स्मरण गराँउदै मुलुकको प्रधानमन्त्री माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएका बेला यस्तो निर्णय गर्नु अत्यन्त गलत भएको बताएका छन् ।
‘सबैलाई जानकारी भएको विषय हो कि भारतले पहिलेदेखि नै नेपालको अन्तराष्ट्रिय हवाई अड्डालाई आफ्नो नियन्त्रण भित्र राख्नका लागि भारतीय एयरमार्सल राख्न चाहेको थियो, उसले २०६५ सालमा हिसिला यमी पर्यटन मन्त्री हुँदा पनि एयरमार्सलको प्रस्ताव पठाएको थियो, उक्त प्रस्तावलाई पार्टीको निर्णयमा रोकिएको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘आज प्रचण्ड प्रधानमन्त्री भएको बेला यो प्रस्ताव गरिनु र पास हुनु भनेको देशको लागि जनघात र राष्ट्रघात त हो नै साथसाथै लज्जास्पद र असैह्य विषय हो ।’
आजको विश्वमा हवाई अड्डा नै सबै भन्दा सम्वेदनशिल क्षेत्र भएको भन्दै माओवादीले उक्त सम्झौता खारेज गर्न र सरकारीस्तरबाट भएको उक्त निर्णयबारे जनतालाई जानकारी गराउन माग समेत गरेको छ ।
‘भारतीय एयरमार्सललाई जिम्मा लगाउनेतिर जानु नेपाली जनता र नेपाली सुरक्षा शक्तिको ठूलो अपमान हो, तसर्थ हाम्रो पार्टीको कडा माग छ कि नेपालको अन्तराष्ट्रिय विमान स्थलमा भारतीय एयरमार्सल राख्ने सम्झौताबारे राज्यले जनालई जानकारी दिनुपर्छ र उक्त सम्झौता तुरुन्त खारेज हुनुपर्छ’, विज्ञप्तिमा भनिएको छ ।
प्रकाशित मिति:
January 24, 2017