सहमतिको बिन्दु निर्वाचन मात्रै हो : ओली
विराटनगर, ४ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक वर्ष भित्र तीनवटै तहको निर्वाचन नभए मुलुकमा संवैधानिक जटिलता उत्पन्न हुने बताएका छन् ।
विराटनगर विमानस्थलमा मंगलबार साँझ पत्रकारसँग कुराकानी गर्दै उनले सरकार निर्वाचनबाट भाग्न खोजेकाले संविधान कार्यान्वयनमा समेत समस्या सिर्जना भएको विचार व्यक्त गरे ।
उनले निर्वाचनका लागि ल्याइएको ऐनसमेत सरकारले समितिमा पठाएर निर्वाचनको वातावरण बिथोल्न खोजेको आरोप लगाए ।
छोटो समय भएकाले स्थानीय निकायका नाममा नअल्मलिन आग्रह गर्दै उनले स्थानीय तहको नै निर्वाचन हुनुपर्ने र तत्काल चुनावको मिति घोषणा हुनुपर्ने माग गरे ।
अध्यक्ष ओलीले दलहरुबीच सहमतिको बिन्दु निर्वाचन मात्रै रहेको भन्दै जसरी भए पनि निर्धारित समयमै निर्वाचन गराउनुपर्ने आवश्यकता औँल्याए ।
प्रकाशित मिति:
January 17, 2017