अनिश्चितकालिन सडक बन्द फिर्ता लिन राजनीतिक दलको आग्रह
खोटाङ, २७ पुस । स्थानीय तह पुःर्नसंरचना आयोगले प्रस्ताब नै नगरिएको गाउँपालिका बनाउन सिफारिस गरेको भन्दै सडक बन्दमा उत्रिएका खोटाङका संघर्ष समितिलाई राजनैतिक दलले आन्दोलन खुकुलो पार्न आग्रह गरेका छन् ।
महुरेगढीको सट्टामा लामीडाँडा गाउँपालिका बनाइएको भन्दै बिरोधमा अनिश्चितकालिन सडक बन्दमा उत्रिएका बुईपा, राजापानी, बिजयखर्क, नुनथला लगायतका स्थानीयलाई सात राजनैतिक दलले आन्दोलन खुकुलो पार्न आग्रह गरेका हुन् । गत शनिबारदेखिको अनिश्चितकालिन सडक हड्तालले सर्वसाधारणले यात्रा तथा जनजीवन कष्टपूर्ण भएको भन्दै कांग्रेस, एमाले, माओबादी केन्द्र, राप्रपा, नेकपा माले, खम्बुवान राष्ट्रिय मोर्चा र नयाँ शक्तीले आन्दोलनको बिकल्प खोज्न बन्दकर्तालाई आग्रह गरेका छन् ।
जिल्लास्थित दलले दलले संयुक्त बिज्ञाप्ती जारी गर्दै सडक बन्दका कारण कष्टपूर्ण बन्दै गएको जनजीवनलाई सहज बनाउने वाताबरण सिर्जना गर्न प्रशासनको ध्यानाकर्षण गराएका छन् । ‘सडक बन्दका कारण जनताले भोग्नु परेको कष्टताप्रति हामी गम्भीर भएका छौँ,’ संयुक्त बिज्ञाप्तीमा भनिएको छ, ‘यातायात बन्दको रुप परिवर्तन गर्न आन्दोलनरत पक्षलाई आग्रह गर्दछौँ ।’ गाउँपालिका र नगरपालिकाको सूचीमा प्रस्ताव नै नगरिएको गाउँपालिकाको नाम आएपछि सच्याउन माग गर्दै बिरोधमा उत्रिएका स्थानीयको सडक बन्दका कारण शहर जाने तथा शहरबाट गाउँ फर्कने यात्रु मारमा परेका छन् । राजधानी लगायतका शहर आवत–जावत गर्ने एक मात्र सडक दिक्तेल–जयराम सडक बन्द भएपछि यात्रु पैदल यात्रा गर्न बाध्य छन् । बन्दकर्ताले जयराम–हलेसी हुँदै दिक्तेल भित्रिने सवारी साधनलाई बिजुलेभन्दा भित्र छिर्न दिएका छैनन् । भने, सदरमुकाम दिक्तेलबाट जाने सवारी साधनलाई पनि हुर्लुङभन्दा बाहिर अगाडि बढ्न दिएको छैन ।
दुबैतिरको सवारी साधन अघि बढ्न नपाएपछि यात्रु हिँडेरै बिजुले–हुर्लुङ सडक पार गर्न बाध्य छन् । जिल्ला अस्पताल दिक्तेलबाट आकस्मिकरुपमा रेफर गगरिएका बिरामी हेलीकोप्टर चार्टर गर्न वा हवाईजहाज प्रयोग गर्न बाध्य बनेका छन् । बिरामी बोकेका सवारी साधनलाई भने बन्दमा अबरोध नगरिएको संघर्ष समितिका संयोजक उदयबहादुर कार्कीले बताए । श्रोतका अनुशार आयोगका सदस्य डा. श्याम भुर्तेलले काठ्माण्डौं बस्ने केही नेताको लहैलहैमा सिफारिस नै नभएको गाउँपालिका तयार पारेपछि बिरोध आएको हो । जिल्लाबाट प्रस्ताबित महुरेगढी गाउँपालिकालाई यथावत कायम नगरिएसम्म आन्दोलन जारी रहने संघर्ष समितिका सदस्य एबं युवा संघका जिल्ला अध्यक्ष दिनेश राईले बताए ।
प्रस्ताब नै नगरिएको गाउँपालिका बनाउन आयोगले सिफारिस गरेको भन्दै खोटाङका ७ दलले समेत बिरोध जनाएका छन् । दलले अनाधिकृत र जनभावना बिपरित तोडमोड गरिएको आयोगको प्रतिबेदनलाई अस्वीकार गर्ने चेतावनी दिएका छन् । जिल्लाको सिफारिसलाई लत्याएर सरकारलाई बुझाइएको आयोगको प्रतिबेदनले आफुहरुलाई ‘मिनिमाईज’ गरेर बेकम्मा साबित गर्न खोजेको नेताहरुको बुझाई छ ।
समस्या समाधानकालागि प्रशासनलाई यातायात व्यवसायीको ध्यानाकर्षण
सडक बन्दका कारण यात्रु मारमा परेको भन्दै खोटाङका यातायात व्यवसायीले पनि समस्याको समाधानकालागि प्रशासन समक्ष आग्रह गरेका छन् । जारी सडक बन्दका कारण हजारौँ यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य भएको भन्दै संघले बुधबार स्थानीय प्रशासनलाई ज्ञापनपत्र बुझाउँदै तत्काल सडक खुलाउने वाताबरण मिलाउन आग्रह गरेका हुन् । राजनैतिक दल र प्रशासनले शुक्रबारसम्ममा निर्वाधरुपमा सडक सञ्चालन गर्ने वाताबरण नबनाए आफैले अनिश्चितकालकालागि सडक बन्द गर्ने यातायात व्यवसायीले चेतावनी दिएका छन् । बन्दका बावजुद बिहिबार सवारी साधन सञ्चालन गर्ने तयारी गरिएको यातायात व्यवसायी संघ खोटाङका महासचिव राजकुमार राईले बताए । आयोगले सिफारिस नै नगरिएको गाउँपालिका बनाउने प्रतिबेदन बुझाएको भन्दै यातायात व्यवसायीले पनि बिरोध जनाएका छन् ।
जनजातीको पनि बिरोध
खोटाङको गाउँपालिकाको सुचीमा सिफारिस नै नभएको नाम आएको भन्दै आदिबासी जनजाती महासंघ लगायत जातीय संगठनले पनि बिरोध जनाएका छन् । आदिबासी जनजाती महासंघ, किरात राई यायोक्खा, नेपाल तामाङ घेदुङ, किरात राई चामलीङ खाम्बातिमले बुधबार संयुक्त बिज्ञाप्ती जारी गर्दै सबैको मनोभावना समेटेर स्थानीय तहको पुःर्नसंरचना गर्न माग गरेका छन् । उनीहरुले ऐतिहाँसिक थाँतथलोलाई समेटेर पहिचानको आधारमा पुःर्नसंरचना नगरिएसम्म आन्दोलनको बिकल्प नरहेको उल्लेख गरेका छन् ।
प्रकाशित मिति:
January 11, 2017