क्रान्तिकारीद्वारा स्ववियु निर्वाचन परिचालन समिति गठन
काठमाडौँ, २९ पुस । त्रिभुवन विश्वविद्यालयको आगामी फागुन १४ गतेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीले अध्यक्ष नरेन्द्र न्यौपानेको संयोजकत्वमा पाँच हजार ४५३ सदस्यीय ‘स्ववियु मूल निर्वाचन परिचालन समिति’ गठन गरेको छ ।
आज पत्रकार सम्मेलन गदै क्रान्तिकारीका अध्यक्ष न्यौपानेले स्ववियु निर्वाचनमा आफ्नो पक्षमा जनमत जुटाउनका लागि परिचालन समिति गठन गरेको जानकारी गराए ।
समितिमा केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला समितिका सबै सदस्यका साथै देशभरका सबै क्याम्पसका इकाइ अध्यक्ष रहेका छन् । उनले आफूहरु स्ववियु निर्वाचनलाई स्वागत गर्दै चुनावमा होमिएको बताए ।
यसैगरी क्रान्तिकारीले स्ववियु निर्वाचनका लागि विभिन्न उपसमितिसमेत बनाएको छ । अखिलले अध्यक्ष न्यौपानेको संयोजकत्वमा उम्मेदवार छनोट उपसमिति, आर्थिक उपसमितिमा अनिल शर्मा, स्वयम्सेवक उपसमितिमा रामचन्द्र अधिकारी, घोषणापत्र उपसमितिमा मदन अर्याल, वार्ता तथा तालमेल उपसमितिमा रञ्जीत तामाङ रहेका छन् ।
यसैगरी क्रान्तिकारीले स्ववियु निर्वाचनका लागि काठमाडौंका आङ्गिक क्याम्पसमा संयोजक तोकेको प्रवक्ता सुरेन्द्र बस्नेतले जानकारी गराए ।
स्ववियु तयारीलाई अझ व्यापक बनाउन माघ १० गतेभित्र सातैवटा प्रदेशमा प्रदेशस्तरीय स्ववियुसम्बन्धी बृहत् कार्यशाला गोष्ठी गर्ने क्रान्तिकारी प्रवक्ता बस्नेतले बताए ।
प्रकाशित मिति:
January 13, 2017