नाटकमा अभिनय गर्दागर्दै कलाकार फुयाँलको निधन

राष्ट्रिय नाचघरमा नाटक ‘महर्षि याज्ञबल्कय’ मा अभिनय गर्दागर्दै स्वास्थ्यमा समस्या आएपछि उपचारका क्रममा उनको निधन भएको हो ।
दुई घन्टाको सो नाटक सुरुवात भएको डेढ घन्टा पुगेपछि एक्कासि नाटक गर्दागर्दै बेहोस भई फुयाँल ढलेपछि तत्कालै वीर अस्पताल पु¥याइएको प्रत्यक्षदर्शीसमेत रहेका सञ्चारकर्मी शिरोमणि दवाडीले जानकारी दिए ।
सत्यमोहन जोशीद्धारा लिखित सो नाटकमा फुयाँलले राजा जनकको भूमिकामा अभिनय गरिरहेका थिए । चिकित्सकले फुयाँललाई हृदयघात भएको बताएका छन् । झन्डै पाँच दशकदेखि रङ्गक्षेत्रमा सक्रिय फुयाँलले नाटकका साथै थुप्रै टेलिचलचित्र र चलचित्रमा अभिनय गरेका छन् ।
वि।सं। १९९४ भदौ २३ गते भक्तपुरको थाकलमाटमा जन्मनुभएका फुँयाल राष्ट्रिय जनसांस्कृतिक महासंघनिकट जननाट्य मञ्चका पूर्व अध्यक्षसमेत थिए ।
नेपाल भाषाको टेलिशृङ्खला कर्मयाभोगमा २०१९ मा अभिनय गरी नाट्ययात्रा आरम्भ गर्नुभएका फुँयाल ‘अविरल बग्दछ इन्द्रावती’, ‘तीतो सत्य’लगायत टेलिशृङ्खलामा निर्वाह गरेको सशक्त भूमिकाका कारण चर्चित थिए । सुकुलगुण्डा, भत्केको सपना, कोरस, जनैको साँचो, कान्छा, आगोका झिल्का, नौलो डाँडालगायत उनीद्वारा अभिनित नाटक लोकप्रिय छन् ।
उनले २०० भन्दा बढी सानो पर्दाका र ४० भन्दा बढी ठूलो पर्दाका चलचित्र एव्म पाँच सय भन्दा बढी नाटकमा अभिनय गरिसकेका छन् । फुयाँल लामो समयदेखि सुगर र युरिक एसिडबाट पीडित थिए । उनका तीन छोरा छन् । रासस
प्रकाशित मिति:
January 03, 2017