बैशाख १३ । भिटामिन ए र जुकाको औषधी खुवाउन गएको टोलीलाई राउटेहरुले आफूहरुले पेटभरी खान नपाएको र औषधी कहिल्यै पनि नखाएकाले नखाने भनेपछि उक्त टोली त्यसै फर्कनु परेको छ ।
सरकारले अभियानको रुपमा सञ्चालन गरेको भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रममा फिरन्ते जीवन बिताउँदै आएका राउटेहरुले भने नखाएका हुन् ।
उनीहरूले औषधि खानुलाई आफ्नो संस्कृतिविपरीत भएको भन्दै खान नमानेपछि जिल्ला स्वास्थ्य कार्यालयको टोली सदरमुकाम फिर्ता आएको छ ।
सरकारी नीतिअनुसार सुर्खेत जिल्ला स्वास्थ्य कार्यालयले वैशाख ६ र ७ गते राउटेहरू रहेको क्षेत्र सल्यानको कालिमाटीमा स्वास्थ्यकर्मीको टोली पठाएको थियो । उनीहरूले औषधि खान नमानेपछि टोली फिर्ता भएको सुर्खेतको धारापानीस्थित उपस्वास्थ्य चौकीका अहेव प्रेम खत्रीको भनाई राससले उल्लेख गरेको छ ।
‘जिल्ला स्वास्थ्य कार्यालयको निर्देशनअनुसार हामी औषधि बोकेर राउटेबस्ती पुगे पनि उनीहरूले खान नमानेपछि फिर्ता हुनुप¥यो,’ उनले भने, ‘रुपियाँ दिन्छौँ भनेर प्रलोभन देखाए पनि खान मानेनन् ।’
जङ्गलमा घुमन्ते जीवन बिताउँदै आएका राउटेहरू अहिले पनि आधुनिक उपचार पद्धतिमा विश्वास गर्दैनन् । सरसफाइमा केही सचेत भए पनि बिरामी पर्दा भने जङ्गली जडीबुटीकै प्रयोग गर्ने गरेका छन् । ‘हाम्रा जनताले औषधि खान मान्दैनन्, तपाईंहरू नरिसाउनु होला,’ राउटे मुखिया ऐनबहादुर शाहीको भनाइ उद्धृत गर्दै अहेव खत्रीले भने, ‘पहिले पनि डाक्टरसाब औषधि खुवाउन आएका थिए, फर्काइदिएका थियौँ ।’
‘औषधि फिर्ता लैजाउ, बरु रुपियाँ देउ,’ मुखिया शाहीको भनाइ उद्धृत गर्दै अहेव खत्रीले भने, ‘हाम्रा जनताले पेटभरि खान पाएका छैनन्, औषधिले त पेट भरिँदैन ।’
कालिमाटीमा करिब सयको सङ्ख्यामा राउटे छन् । त्यहाँ रहेका पाँच वर्षमुनिका २० बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने सरकारी योजना थियो ।
जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य शिक्षा अधिकृत बसन्त श्रेष्ठले जति सम्झाउँदा पनि औषधि नखाँदा सरकारी अभियान प्रभावित भएको बताए । ‘यसले राउटे समुदायमा स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न चुनौती पनि थपिएको छ,’ उनले भने, ‘यसको लागि विशेष रणनीतिसहित अघि बढ्नुपर्छ ।’
Powered by Blogger.
‘हाम्रा जनताले पेटभरि खान पाएका छैनन्, औषधिले त पेट भरिँदैन’
प्रकाशित मिति:
April 26, 2013