योजना आयोगले पारित गर्यो चौधौं योजना
काठमाडौं २४ पुस । राष्ट्रिय योजना आयोगको बैठकले चौधौं योजना (आर्थिक वर्ष २०७३/०७४—२०७५/०७६) को बिस्तृत दस्तावेज स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा आयोगका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले चौधौं योजना पारित गरेको हो ।
बैठकमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समय अगावै १४ औं योजना आएको र यसले योजनाको लक्ष्य हासिल गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । प्रधानमन्त्रीले भने, ‘राष्ट्रिय योजना आयोगले समयअगावै १४ औं योजना प्रस्तुत गरेको छ । अहिले पनि हामी संक्रमणकै चरणमा छौं । संविधान निर्माणपछि राजनीतिक संक्रमण केही हदसम्म समाधान भएपनि संघीयताको कार्यान्वयन नहुँदासम्म आर्थिक योजना र संरचनाको संक्रमण बाँकी नै रहन्छ । अबको हाम्रो आर्थिक योजना पनि संघीयता कार्यान्वयन, प्रादेशिक संरचना र योजना निर्माणमा केन्द्रित हुनुपर्छ ।’
बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले १४ औं योजनाको प्रस्ताव प्रस्तुत गरेका थिए । त्यसैगरी नेपाल सरकारका मूख्य सचिव डा. सोमलाल सुवेदीले संघीयता कार्यान्वयनको चरणमा रहेकाले आगामी योजनाले संघीयता कार्यान्वयन, कर्मचारी व्यवस्थापन र प्रादेशिक संरचना र पूर्वाधार निर्माणमा जोड दिनुपर्नेमा जोड दिएका थिए ।
प्रकाशित मिति:
January 08, 2017