तलब दिननसक्ने सञ्चार माध्यम बन्द गर्न आग्रह
खोटाङ, १३ माघ । न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसीले पत्रकारलाई तलब दिन नसक्ने सञ्चार माध्यम बन्द गर्न सञ्चालकलाई आग्रह गरेका छन् ।
श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था बुझ्न खोटाङ पुगेका अध्यक्ष केसीले कुनै पनि बाहनामा सञ्चार माध्यममा काम गर्ने पत्रकारलाई तलब नदिने सञ्चार माध्यम चलाइरहनुपर्छ भन्ने जरुरत नहुने बताए ।
“अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्तत्रतालाई सङ्कुचित गर्न पाइन्न । सञ्चार माध्यम खोल्न पाइन्छ तर, व्यवस्थित ढङ्गले खोल्नु प¥यो ।” दिक्तेलमा बुधबार आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “सञ्चार माध्यममा काम गर्ने पत्रकारलाई तलब दिनु प¥यो । पारिश्रमित दिनु प¥यो । दिन सकिन्न भने त्यस्ता सञ्चार माध्यमलाई बन्द गरिदिए हुन्छ केही फरक पर्दैन ।”
पत्रकारलाई तलब नदिने जिल्लाका केही सञ्चार माध्यमका सञ्चालक प्रति लक्षित गर्दै अध्यक्ष केसीले सञ्चार माध्यमको विकल्पमा अर्को व्यवसाय अपनाउन पनि आग्रह गरे । “सञ्चार माध्यमलाई सस्टेनेबल बनाउने दायित्व हाम्रो पनि हो ।” उनले भने, “चुस्त दुरुस्त थोरै कर्मचारी राख्नुस् । बेलामा तलब दिनुस् ।”
पछिल्लो समय सरकारले जथाभावी सञ्चार माध्यम खोल्न दिएर गल्ती गरेको पनि अध्यक्ष केसीले दाबी गरे ।
प्रकाशित मिति:
January 26, 2017