राप्रपाको खुट्टा सरकारमा, हात मुख एमालेसँग
काठमाडौं १८ माघ
वर्तमान सरकारको नेतृत्व नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस सरकारमा छ भने प्रधानमन्त्रीको निर्वाचनमा संयुक्त मधेसी मोर्चाले समेत समर्थन गरेको थियो ।
यहीँ सरकारमा राप्रपाका दुई मन्त्री समेत रहेका छन् । ती हुन दिपक बोहोरा आपूर्ति मन्त्री र विक्रम पाण्डे भूमिसुधार तथा व्यवस्था मन्त्री ।
तत्कालिन राप्रपा अध्यक्ष पशुपति शमशेर राणा र राप्रपा नेपाका अध्यक्ष कमल थापाले पार्टी एकीकरण गर्न अगाडी राणा नेतृत्वको पार्टीका तर्फबाट उनीहरु मन्त्री बनेका थिए । अहिले पार्टी एकीकरणपछि कार्यकारी अध्यक्ष थापाले सम्हालेका छन् ।
नेतृत्व जसले सम्हालेपनि राप्रपाले पछिल्लो पटक दोहोरो चरित्र देखाउँदै आएको छ । आफ्नै पार्टीका मन्त्री सरकारबाट फिर्ता नबोलाउने तर बाहिर सरकारको विरोध गर्दै हिड्ने गरेका छन् थापाले ।
स्रोतका अनुसार थापाले मालदार मन्त्रालय माग गरेको तर बार्गेनिङ नमिल्दा आफ्ना मन्त्री फिर्ता पनि नगरेको र सरकारको विरोध पनि गर्न नछाडेको बताइन्छ । कतिपयले राप्रपाको खुट्टा सरकारमा राखेर हात मुख एमालेसँग जोडेको भन्दै व्यंग्य समेत गर्ने गरेका छन् ।
विपक्षीमा भोट
राप्रपाले सरकारको काम कारबाहीको विरोध मात्र नभएर निर्णय गर्ने क्रममा समेत प्रमुख प्रतिपक्षी एमालेकै कित्तामा उभिएको छ । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिको सभापति पदका लागि सोमबार निर्वाचन भएको थियो । निर्वाचनमा राप्रपाले सत्तारुढ दलको विपक्षमा मतदान गरेको थियो । यद्यपी, सत्तारुढ दल कांग्रेस माअाेवादीको सहमतिका कारण सभापति पदमा माओवादीका सांसद डोरप्रसाद उपाध्याय निर्वाचित भए ।
संविधान संशोधनमा शंका
राप्रपाले संविधान संशोधनमा विरोध गर्दै आएको छ । यद्यपी उसले आफ्ना मन्त्री फिर्ता नबोलाएकाले मालदार मन्त्रालयको बार्गेनिङमा थापा रहेको आरोप समेत लाग्ने गरेको छ । एमालेसहित राप्रपाले विपक्षीमा मतदान गरे संविधान संशोधन विधेयक फेल हुने स्थितिमा पुग्नेछ ।
प्रकाशित मिति:
January 31, 2017