किन पक्राउ परे 'ए बाउ भात खान आउ' भन्ने गायक ओझा
काठमाडौँ, १५ माघ । कुनै बेला चर्चित रहेको 'ए बाउ भात खान आउ' शब्द संगीतको गीत गाउने गायक प्रकाश ओझालाई शनिबार प्रहरीले पक्राउ गर्यो ।
पक्राउ मात्र होइन अब उनले १० वर्ष कैद सजाय कटाउनुपर्ने छ । त्यसका लागि शनिबारबाटै उनको दिन गन्ति सुरु भएको छ ।
किन पक्राउ परे गायक ओझा
गायक ओझालाई सर्वोच्च अदालतले १० वर्ष कैदको सजाय सुनाए पछि पक्राउ परेका हुन् ।
दुई वटा मानव बेचबिखन तथा ओसारपसार मुद्दामा नेपाल सरकार बादी रहेको मुद्धामा सर्वोच्च अदालतको गत माघ ४ गतेको फैसला अनुसार अब उनले १० वर्ष कैद भुक्तानी गर्नुपर्नेछ ।
ओझाले २०५९ सालदेखि लगातार दुई वर्षसम्म डर त्रास देखाइ अनुचित प्रभावमा पारी तीन जना नाबालिकासँग अनैतिक शारिरीक सम्बन्ध राखी पीडितले थाहा नपाउने गरी खिचेको अश्लिल तस्बिर तथा श्रव्यदृश्य खिची सार्वजनिक गरीदिने धम्की दिएर पटक/पटक यौन शोषण र अप्राकृतिक मैथुन गरेको र ती सामग्री बेवसाइटमा समेत राखी बेचबिखन गरी पैसा कमाउने उद्देश्य राखेको अदालतले ठहर गरेको थियो ।
अदालतको ठहर अनुसार उनले पैसा कमाउने उद्देश्यले अश्लिल सामग्री अनुमति बिना बेवसाइटमा राख्ने गरेका हुन् ।
साेही प्रकरणमा पीडित भएकी नायिका ज्योति खड्काले २०६९ जेठ ३० गते आत्महत्या गरेकी थिइन् । सर्वोच्च अदालतले पुनरावेदन अदालत विराटनगरको यसअघिको फैसला उल्टाउँदै उनलाई दोषी ठहर गरेको हो ।
फैसलाले सुनसरी इटहरी उपमहानगरपालिका स्थायी घर भएका ओझालाई पाँच/पाँच वर्ष गरी कुल १० वर्ष कैद सजाय तोकिएको छ।
अदालतको फैसलापश्चात् फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले शनिबार शङ्खमूलबाट पक्राउ गरेको हो ।
पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरेपश्चात् निज ओझालाई अदालतको आदेशले कैद भुक्तानका लागि शनिबार केन्द्रिय कारागार कार्यालय सुन्धारामा पठाइएको छ ।
प्रकाशित मिति:
January 28, 2017