सेलफोन बोक्ने नेपालीले विद्युतीय मेसिनलाई हाउगुजी ठान्दैनन् : प्रधानमन्त्री
काठमाडौं २५ माघ
प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन नहुने हो कि भनेर शंका नगर्न सबैलाई आग्रह गरेका छन् । निर्वाचन सम्बन्धी सबै कानुनहरु पास भईसकेको भन्दै निर्वाचन भएरै छाड्ने उनको भनाई छ ।
निर्वाचन आयोगले विद्युतीय भोटिङ मेसिनको प्रयोगबारे जानकारी दिने उद्देश्यले मंगलबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले स्थानीय निर्वाचन हुनेमा शंका नगर्न आग्रह गर्दै निर्वाचन गर्नैपर्ने समेत बताए । ‘निर्वाचनसम्बन्धी ऐन पारित भइसकेका छन्, सरकार निर्वाचन तयारीमा लागिरहेको छ । अब निर्वाचनमा कुनै शंका नगरौं, निर्वाचन हुन्छ, निर्वाचन गर्नैपर्छ ।’ प्रधानमन्त्री दाहालले भने ।
प्रधानमन्त्री दाहालले नेपाली जनता प्रविधि प्रयोगमा सक्षम भइसकेको भन्दै नेपालीले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्न जान्दैनन् कि भन्ने सोच्नु गलत हुने समेत बताए । ‘यसपाली म देशका विभिन्न भागमा पुगें, दुर्गम ठाउँका जनताले पनि सेलफोन बोक्न थालिसकेका छन्’ उनले भने, ’अब नेपालीले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्न जान्दैनन् कि भन्ने सोच्नु गलत हो ।’ निर्वाचन शिक्षालाई प्रभावकारी बनाउनुपर्ने भन्दै प्रधानमन्त्री दाहालले सेलफोन बोक्ने नेपालीले विद्युतीय मेसिनलाई हाउगुजी नठान्ने बताए ।
प्रकाशित मिति:
February 07, 2017