पश्चिम सेती जलविद्युत आयोजना स्थलमा उर्जामन्त्री
देशलाई लोडसेडिङमुक्त गराउने अभियानमा लागेका ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले विभिन्न जलविद्युत आयोजनाको अनुगमनलाई तिब्र पारेका छन् ।
मन्त्री शर्मा शनिबार पश्चिम सेती जलविद्युत आयोजनास्थल बैतडी पुगेका छन् । सो क्रममा बैतडीको ढुंगाढमा आयोजित जनसभामा बोल्दै उनले डोटी, बैतडी र डडेलधुराको सीमानामा बन्न लागेको ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत आयोजना सम्पन्न भयो भने आसपासका मात्र होइन सिंगो सुदुरपश्चिमका जनता सम्पन्न हुने धारणा राखे ।
मन्त्री शर्माले जलविद्युत आयोजना स्थलहरुमा संघर्ष समिति नभर सहयोग समिति बनाएर अघि बढ्न स्थानीय जनतालाई अनुरोध समेत गरे ।
मन्त्री शर्माले शनिबार नै दार्चुलास्थित ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजनाको पनि स्थलगत अनुगमन गरेका थिए ।
सो क्रममा उनले संशोधित तालिका अनुसार सन २०१७ भित्र निर्माणको काम सम्पन्न गर्न निर्देशन दिए । ठेकेदारको लापरवाही तथा निर्माण भइसकेको सुरुङ खुम्चिनु लगायतका कारणले उक्त आयोजनाको काम १९ महिना ठप्प भएको थियो । प्रतिकुल भौगोलिक अवस्थितिका कारण ८४३ मिटर सुरुङ खुम्चिएको थियो । खुम्चिएकोमध्ये अब २५ मिटर मात्र खुलाउन बाकी छ ।
प्रकाशित मिति:
February 12, 2017