काठमाडौं मेयरमा कस्ले मार्ला बाजी ? यी हुन् सम्भावित उम्मेदवारका पात्र
काठमाडौं ३० चैत
स्थानीय तहको निर्वाचन आउन अब करिब महिना दिन मात्रै बाँकी रहँदा स्थानीय तहका उम्मेदवारहरुको चर्चा चुलिएर गएको छ ।
विभिन्न दलहरुले विभिन्न ठाउँमा धमाधम उम्मेदवार घोषणा गरिरहेका छन् । देशको राजधानी रहेको काठमाडौँ महानगरपालिकामा पनि मेयरको उम्मेदवार चयनको विषय खुबै चर्चामा आइरहेको छ । यद्यपी, कुनै पनि राजनीतिक दलले मेयरको उम्मेदवार घोषणा गरिसकेका छैनन् ।
पार्टीको आन्तरिक छलफलमा सम्भावित उम्मेदवारको चर्चा भने चर्को रुपले अगाडी बढीरहेको छ । नयाँ संविधानले स्थानीय तहलाई शक्तिशाली बनाएपछि काठमाडौँको मेयरमा स्थानीय तहमा क्रियाशील नेतादेखि केन्द्रीय तहका प्रभावशाली नेताको नामसमेत चर्चामा छ ।
संसदमा सबैभन्दा ठूलो दल नेपाली काँग्रेसबाट महानगरपालिकाको मेयरका लागि दुईजना बहालवाला मन्त्रीहरू उद्योगमन्त्री नवीन्द्रराज जोशी र स्वास्थ्यमन्त्री गगन थापा, पूर्वमन्त्री तीर्थराम डङ्गोल र राजु जोशीलगायतको नाम चर्चामा छ ।
मन्त्री जोशी र थापा दुवै जना काठमाडौँबाटै प्रत्यक्ष निर्वाचित सांसदसमेत हुन् । डङ्गोल यसअघि काठमाडौँकै उपमेयर र सांसदसमेत निर्वाचित भएपछि मन्त्रीसमेत बनेका थिए । राजु जोशीले काँग्रेस जिल्ला सचिवको भूमिका निर्वाह गरिसकेका छन् ।
त्यसैगरी एमालेमा काठमाडौँको मेयरका लागि केन्द्रीय सचिव योगेश भट्टराई, केन्द्रीय सदस्यद्वय कृष्णगोपाल श्रेष्ठ र जीवनराम श्रेष्ठ तथा उपत्यका इन्चार्ज सानु श्रेष्ठ, विद्यासुन्दर शाक्य लगायतको नाम चर्चामा छ । भट्टराई संविधानसभाको गत निर्वाचनमा काठमाडौँकै निर्वाचन क्षेत्र नं. ६ बाट उम्मेदवार बनेका थिए ।
त्यसैगरी नेकपा (माओवादी केन्द्र) मा हितमान शाक्य, हिमाल शर्मा, सर्वोत्तम डङ्गोल लगायतको नाम मेयरको उम्मेदवारको चर्चामा छ । शाक्य माओवादीको पोलिटब्युरो सदस्य हुन् भने यसअघि पार्टीको विद्यार्थी सङ्गठनको अध्यक्ष रहेका शर्मा हाल अर्थमन्त्रीको स्वकीय सचिव छन् । पोलिटब्युरो सदस्य डङ्गोल पार्टीको महानगर इन्चार्जसमेत हुन् ।
दलका नेताहरू एकअर्काले उठाउने प्रतिस्पर्धीका आधारमा आफ्नो उम्मेदवारको टुङ्गो लगाउने बताउँछन् । काठमाडौँमा ठूलो सङ्ख्यामा रैथाने नेवार समुदाय मतदाता रहेको हुनाले उम्मेदवार छनोटमा सबै दलले यो तथ्यलाई ध्यानमा राखेकाे पाइएकाे छ ।
माओवादी केन्द्रका ३ नं. प्रदेश सहसंयोजक झक्कु सुवेदीले पार्टीभित्र मात्र नभई पार्टी बाहिरबाट पनि उम्मेदवारीको सम्भावना रहेको जानकारी दिँदै दुईचार दिनभित्रै नाम टुङ्ग्याउने बताए । “हामी पार्टीभित्रका नेता मात्र नभई हामीलाई माया गर्ने पार्टी बाहिरका वामपन्थी वा स्वतन्त्र व्यक्तिको विकल्पसमेत खोजिरहेका छौँ”, पार्टीले उम्मेदवारबारे निर्णय गर्न आन्तरिक छलफल गरिरहेको बताउँदै सुवेदीले भने, “अहिले काठमाडौँका ३२ मध्ये १८ वटा वडाको भेला सकेका छौँ । त्यहाँबाट आएको सुझावका आधारमा उम्मेदवार छनोट गरिनेछ । ”नयाँ संविधानको धारा २१७ ले गाउँपालिका उपाध्यक्ष र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समितिको व्यवस्था गरेको छ । समितिमा गाउँ सभा र नगर सभाबाट निर्वाचित अन्य दुई सदस्य हुनेछन् ।
प्रकाशित मिति:
April 12, 2017