आईजीपीले बोलाएको बैठक डिआइजी सिलवालद्धारा अस्वीकार
काठमाडौं ३० चैत
एउटै ब्याजका डिआइजीहरु मध्ये सरकारले नेपाल प्रहरीको प्रमुख नियुक्त गरेका नवनियुक्त प्रहरी महानिरीक्षक प्रकाश अर्यालले बोलाएको प्रहरी समन्वय समिति (पीसीसी) बैठकमा डीआईजी नवराज सिलवाल अनुपस्थित भएका छन् ।
यसअघि अर्का डिआइजी जयबहादर चन्दलाई सरकारले प्रहरी प्रमुख बनाएकोमा सर्वोच्च अदालतले रोकेको थियो । सिलवालले बरिष्ठताका आधारमा आफू हुनुपर्ने माग गर्दै सर्वोच्चमा रिट दायर गरेपछि उनको पक्षमा फैसला गर्दै सर्वोच्चले चन्दको प्रहरी प्रमुखमा बढुवा रोकेको थियो । पुनः कार्यसम्पादनमा अगाडी भन्दै सरकारले अर्याललाई आइजी बनाएपछि सिलवाल फेरि अदालत गएका छन् भने अर्यालले बोलाएको बैठकमा गएनन् । तर अर्का डीआईजी जयबहादुर चन्द भने उपस्थित भएका थिए ।
नवनियुक्त प्रहरी महानिरीक्षक अर्यालको स्वागतमा प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजना गरिएको विशेष कार्यक्रमलगत्तै पीसीसी बैठक बोलाइएको थियो । तर, सिलवाल भने बैठकमा सहभागी नभई आफूलाई नै आईजीपी बनाउनु पर्ने मागसहित सर्वोच्च अदालत पुगेका थिए ।
स्वागत कार्यक्रममा अर्याललाई सलामी दिइएको थियो । कार्यक्रममा महानिरीक्षक अर्यालले सरकारले आफूलाई दिएको जिम्मेवारी निर्वाह गर्ने प्रतिवद्धता जनाएका थिए ।
प्रकाशित मिति:
April 12, 2017