भारतीय प्रधानमन्त्री मोदले भने– ‘स्थानीय निर्वाचनमा सफल पार्न सबै सहयोग’
काठमाडौं १२ वैशाख । भारतले आसन्न हुन गईरहेको स्थानीय तहको निर्वाचन सफल बनाउन सबै किसिमको सहयोग गर्ने घोषणा गरेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्थानीय तहको निर्वाचनमा भारत सरकारको सहयोगको प्रतिवद्धता गरेका हुन् । प्रधानमन्त्री मोदीले निर्वाचन सम्पन्न गर्न पूर्ण सहयोग र सद्भावको प्रतिवद्धता समेत जनाएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाललाई समकक्षी मोदीले मंगलबार दिउँसो ४ बजे टेलिफोन गरेर नेपाल सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन सम्पन्न गर्न भारत सरकारको सहयोग रहको प्रतिवद्धता जनाए ।
टेलिफोनमा नेपाल सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन सफलताको शुभकामना समेत दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ‘सबै राजनीतिक शक्तिलाई मिलाएर निर्वाचनमा जानु तपाईको सफलता हो,’ मोदीको भनाई उदृत गर्दै उनको सचिवालयले भन्यो, ‘निर्वाचन सम्पन्न गर्न भारत सरकारको पूर्ण सहयोग र सद्भाव रहेको प्रतिवद्धता समेत छ ।’
प्रधानमन्त्री दाहालले निर्वाचनमा सहयोग रहने भारतीय समकक्षी मोदीको भनाईका लागि धन्यवाद दिँदै नेपाल सरकारले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गरी संविधानको पूर्ण कार्यान्वयन गर्ने जानकारी गराएका थिए ।
नेपालको संविधान जारी हुँदा भारतले असन्तुष्टि जनाउँदै नेपालमा अघोषित रुपमा लामो समयसम्म नाकाबन्दी गरेको थियो । संविधानप्रति असन्तुष्टि जनाउँदै भारतले अन्तराष्ट्रिय समुदायसँग मिलेर विज्ञप्ति समेत जारी गरेको थियो । नेपालको संविधान जारी हुँदा अन्तराष्ट्रिय समुदायले स्वागत र बधाई दिईरहँदा भारतले भने ध्यानाकर्षण भएको वक्तव्य जारी गरेको थियो भने वर्षदिन पछि मात्र घुमाउरो पारामा स्वीकारेको हो ।
प्रकाशित मिति:
April 25, 2017