प्रधानमन्त्रीलाई विपक्षी एमालेको वान मोर प्लीज किन ?
काठमाडौं १० जेठ
प्रधानमन्त्री प्रचण्ड |
तपाईले कुनै स्टेज प्रोगाममा कुनै प्रस्तुती मन पराएपछि दर्शकको हुलबाट वान्स मोर प्लीज भनेको त पक्कै सुनेको देखेको हुनुपर्छ । त्यस्तै एउटा अचम्मको घटना भने अहिले नेपालको राजनीतिमा देखिएको छ ।
राजनीतिमा प्रतिपक्षी दलको जहिल्यै सरकारको गलत कामको विरोध गर्ने तथा मौका मिल्नसाथ सरकार गिराएर आफू सरकारमा पुग्ने खेल हुन्छ । अहिले नेपालमा भने प्रतिपक्षी एमालेले नै वान्स मोर प्लीज भने झैं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिन खोज्दा जोडबलका साथ रोकीरहेको छ । प्रधानमन्त्रीले हिजै संसदमा सम्बोधन गरेर राजीनामा दिन खोज्दा एमालेले संसद चल्न नै नदिने चेतावनी दिएपछि राजीनामा रोकिन पुग्यो ।
तपाईलाई लाग्न सक्ला, लोडसेडिङ हटाएको, ओबीओआरमा हस्ताक्षर गरेको, फास्ट ट्रायाक नेपाली सेनालाई दिएको, आर्थिक वृद्धिदर ७ प्रतिशत माथि उठाएको लगायत राम्रो काम गरेर भने एमालेले यो सरकारको निरन्तरता चाहेको हैन । ३१ जेठमा दोस्रो चरणको निर्वाचन तोकिएको र त्यतिबेला सम्म यहीँ सरकार लम्ब्याउँदा फाइदा देखेर एमालेले यस्तो रणनीति तय गरेको हो ।
किन एमालेले अहिले प्रधानमन्त्रीको राजीनामा रोक्न चाहिरहेको छ त ? प्रधानमन्त्रीका एक अधिकारी भन्छन् ‘यो सरकार केही लम्ब्याउन खोज्दा गठबन्धन बिगारेर आफू सरकारमा पुग्न सकिन्छ कि भन्ने एउटा कारण देखिन्छ, अर्को कारण भने माओवादी केन्द्रले चुनावमा धाँधली गरेको पाइएन तर कांग्रेसले सत्ता पाउँदा चुनावमा असर पर्ला, कांग्रेस पहिलो शक्ति बन्न सहयोग पुग्ला भनेर पनि आफ्नो प्रमुख प्रतिस्पर्धीलाई प्रधानमन्त्री पद नदिन दाहालको राजीनामा रोक्न चाहिरहेको देखिन्छ ।’
स्रोतका अनुसार एमाले नेताहरुले भरतपुरको चुनावी नतिजा गठबन्धनको पक्षमा नआए सत्तामा खटपट आउन सक्ने तथा कांग्रेसभित्र पनि देउवालाई प्रधानमन्त्री बन्न नदिने खेल भईरहेकाले केही समय प्रचण्डलाई निरन्तरता दिन सके गठबन्धन भत्काउन सकिने निष्कर्ष निकालेका छन् ।
पहिलो चरणको निर्वाचन नतिजा अनुसार पहिलो स्थानमा आएको एमालेका लागि अहिले मुख्य प्रतिस्पर्धी कांग्रेस नै देखिएको छ । कांग्रेसले प्रधानमन्त्री पाएमा दोस्रो चरणमा चलखेल गरेर भएपनि एमालेलाई हराउन सक्ने अनुमान समेत एमाले नेताहरुको रहेको पाइएको छ । बरु, प्रचण्ड नै सरकारमा भए दोस्रो चरणको निर्वाचनमा पनि धाधली नहुने ठानेर पनि एमालेले प्रचण्डलाई निरन्तरता दिन खोजेको देखियो, ती अधिकारीले भने ।
माओवादी नेताहरुले भने प्रधानमन्त्रीले राजीनामा दिनु नै राम्रो हुनेमा जोड दिएका छन् । प्रधानमन्त्रीबाट हटेर प्रचण्ड निर्वाचन केन्द्रित सभा तथा प्रचारप्रसारमा जाँदा नतिजा राम्रो आउने भन्दै राजीनामा दिनुपर्नेमा प्रधानमन्त्रीसहित माओवादी देखिएको छ । कांग्रेससँग जेन्टल सहमति गरेकाले पनि सत्ता छाड्दा प्रचण्डको इमान्दारिता र विश्वास बढ्ने समेत माओवादीको रिडिङ छ ।
प्रधानमन्त्री प्रचण्डले मंगलबार नै संसदमा सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका थिए । तर, एमालेले संसद चल्न नदिने चेतावनी दिएपछि उनको राजीनामा रोकिएको थियो । एमालेले निर्वाचन अगाडी सरकार परिवर्तन गर्न नहुने अडान राख्दै आएको छ । तर, उसले सरकारले स्थानीय तह वृद्धि गरेको विषयलाई लिएर संसद चल्न नदिने चेतावनी दिएको हो ।
प्रकाशित मिति:
May 24, 2017