माओवादी बैठक- ‘प्रचण्डका वरिपरि घुम्नेले पार्टी बिगारे’
काठमाडौं ५ साउन
नेकपा माओवादी केन्द्रको चार दिनदेखि जारी जिल्ला इन्चार्जसमेत सम्मिलित पार्टी सचिवालय सदस्यहरुको विस्तारित बैठकमा निर्वाचनमा अपेक्षाकृत नतिजा नआउनुमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै वरिपरीका नेताहरुसहित केन्द्रीय नेताहरु जिम्मेवार रहेको आरोप लागेको छ ।
स्थानीय तहको निर्वाचन, आगामी निर्वाचनको तयारी तथा पार्टी संगठनको विषयमा समिक्षा गर्न सोमबारदेखि जारी बैठकमा जिल्ला इन्चार्ज तथा सचिवालय सदस्यहरुले अध्यक्ष दाहालका वरिपरी घुम्ने नेताहरुले तल्लो तहका कार्यकर्ता तथा जनताका समस्याहरु सही रुपमा अध्यक्षसम्म नपुर्याएको र आफूहरु पनि जनतासम्म नगएको भन्दै अध्यक्ष पछिका दोस्रो तहका नेताहरुको आलोचना भएको हो ।
‘अध्यक्ष प्रचण्डको वरिपरी घुम्नेहरु धेरै भए, अध्यक्षको ढोका चहार्ने तर जनतामा पटक्कै नजाने प्रवृत्ति बढ्यो,’ उनीहरुले तल्ला तहका कार्यकर्ताको समस्या माथि पुर्याएनन्’ एक नेताले बैठकमा भने, ‘ती नेताहरु अध्यक्षको ढोका चहारेर मात्र बसेर भएन, जनतासम्म जान पर्यो ।’ ती नेताले घुमाउरो शैलीमा अध्यक्षको वरिपरी घुम्ने बिचौलिया जस्तै समूह खडा भएको र अरुलाई अध्यक्षसम्म जाने बाटोमा रोक लगाउने र आफूहरु पनि केही नगर्ने प्रवृतिको विकास भएको भन्दै आलोचना गरेका थिए ।
बैठकमा पछिल्लो पटक एकता प्रक्रियाबाट आएका नेताहरुले निर्वाचन उपयोग मात्र हो कि यसलाई प्रयोग गरेर अघि बढ्ने हो भनेर कार्यदिशा स्पष्ट पार्न समेत अध्यक्षसँग माग गरेका छन् ।
करिब ४ हजार सदस्यीय महाधिवेशन आयोजक समिति ठूलो भएको भन्दै व्यवस्थित र चलायमान गर्न पनि नेताहरुले सुझाव दिएका छन् । आयोजक समिति ठूलो भएपनि निर्वाचनमा सक्रिय नभएको भन्दै व्यवस्थित गर्नुपर्ने उनीहरुले सुझाव दिएका हुन् ।
चुनावी समिक्षाका क्रममा जिल्ला इन्चार्जहबाट केन्द्रिय नेताहरु गाउँ नगएको भन्दै चर्को आलोचना भईरहेको छ । उनीहरुले नेताहरु गाउँ नभएको भन्दै शहरमुखी प्रवृत्ति त्याग्न समेत नेतृत्वलाई चेतावनी दिएका छन् । रिर्पोटिंङका क्रममा उनीहरुले केन्द्रीय नेताहरु गाउँ गएर संगठनमा लाग्ने हो भने पार्टी अझै नसकिएको टिप्पणी समेत गरेका छन् ।
बैठकको चौथो दिन बिहीबार हरिबोल गजुरेल, राम कार्की, छिमिदोर्जे लामा, कुमारी मोक्तान, कृष्णध्वज खड्का, लक्ष्मण जैसी, सुरेश आले, ओम शर्मा, घनश्याम यादव, हिमाल किराँती, खगेन्द्र सेन, राजकुमार शर्मा, हरि दाहाल, दिनेश पन्थी, महेश्वर गहतराज, तिलक शर्मा, विश्वनाथ साह, राजकाजी गुरुङ र सूर्य सुवेदी गरी १९ जना नेताहरुले चुनावी समिक्षा प्रस्तुत गरेका छन् ।
शुक्रबारको बैठकमा अध्यक्ष दाहाल लगायतका शीर्ष नेताहरुले जवाफ दिने कार्यसूचि रहेको छ ।
प्रकाशित मिति:
July 20, 2017