दलहरु उम्मेदवारको होमवर्कमा, भावी प्रधानमन्त्री र मुख्यमन्त्रीको विषयमा एमालेमा विवाद
काठमाडौं ८ असोज
प्रमुख राजनीतिक दलहरु आगामी १०–२१ मंसिरका लागि तोकिएको प्रदेश र संघको निर्वाचनका लागि उम्मेदवार छान्न लागेका छन् ।
विभिन्न जिल्लाबाट प्रमुख दलले उम्मेदवार छनोट गरेर केन्द्रमा पठाउन समेत थालेका छन् ।
२९ असोजमा समानुपातिकका लागि बन्दसूची पेश गर्नुपर्ने भएकाले पनि दलहरुलाई उम्मेदवारको टुंगो लगाउनुपर्ने चटारो छ ।
धेरै नेताहरु यो पटकको दशैं उम्मेदवार छनौटमा नै बित्ने बताउँछन् । माओवादी केन्द्रले प्रदेश नम्बर एकको मुख्य मन्त्री नेता गोपाल किरातीलाई बनाउने निर्णय गरिसकेको छ । अन्य प्रदेशमा भने निर्णय हुन बाँकी छ । अन्य दलले प्रदेश र संघको निर्वाचनका लागि उम्मेदवार चयन गर्न लागे पनि मुख्यमन्त्रीको उम्मेदवार नै भने तोकेका छैनन् ।
यता, नेकपा एमालेमा भने प्रधानमन्त्री र मुख्यमन्त्रीका उम्मेदवार तय गरेर प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीमा लाग्नुपर्ने विषयमा दुईथरी धारणा आएको छ ।
केन्द्रीय कमिटिको बैठकमा शनिबार बोल्नेमध्ये धेरै नेताले तत्काल प्रधानमन्त्री र मुख्यमन्त्रीका उम्मेदवार तय गरेर चुनावी तयारीमा होमिँदा पार्टीको पक्षमा देशव्यापी माहोल हुनसक्ने सुझाव दिएका छन् ।
तर, नेता माधवकुमार नेपालनिकट केन्द्रीय सदस्यहरुले भने त्यसरी उम्मेदवार तय गर्दा पार्टीविरुद्ध घेराबन्दीसहित विपक्षीको सम्भावित मोर्चाबन्दी सामना गर्नुपर्ने भन्दै तत्काल निर्णय गर्न उचित नहुने सुझाव राखेका छन् ।
संस्थापन पक्षका अधिकांश केन्द्रीय सदसयले अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्री घोषणा गरेर जाँदा पक्षमा चुनावी माहोल सिर्जना हुनसक्ने धारणा राखेका थिए ।
प्रकाशित मिति:
September 24, 2017