मत गणना छिटो गराउन आयोगद्धारा धमाधम तालिम, निर्वाचन तयारी पूरा
काठमाडौं १८ भदौं
अघिल्ला दुई चरणको निर्वाचनमा मतगणना ढिला भएको भनेर चौतर्फी आलोचना भएपछि निर्वाचन आयोगले यस पटक भने मत गणनाको तालिममा जोड दिएको छ ।
आयोगका प्रवक्ता नवराज ढकालले यस अघिका निर्वाचनमा मतगणना ढिला भएको गुनासा बढी आएकाले यस पटक त्यसो नहोस् भनेर मतगणना सम्बन्धी तालिमलाई पनि विशेष जोड दिएको जानकारी दिए । आयोगले मत गणना कसरी छिटो गर्न सकिन्छ भनेर धमाधम तालिम सञ्चालन गरिरहेको हो ।
यसैबिच, स्थानीय तह अन्तर्गत तेस्रो चरणको प्रदेश दुईको निर्वाचन तयारी सबै पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले २१ गते उम्मेदवारी दाखिला अगाडीका निर्वाचन आयोगले गर्नुपर्ने सबै तयारी पूरा भएको र मतदाता शिक्षा, तालिम लगायतका काम भने सिलसिलेवार ढंगले अघि बढीरहेको जनाएको छ । ‘निर्वाचनका सबै तयारी पूरा भएको छ,’ आयोग प्रवक्ता नवराज ढकालले भने ।
अब २१ गते मनोनयन दर्ता हुनेछ भने २ असोजमा निर्वाचन मिति तोकिएको छ ।
प्रदेश २ का १ महानगर, ३ उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिका आगामी २ असोजमा निर्वाचन हुन गईरहेको हो । ती स्थानीय तहका वडा संख्या १ हजार २ सय ७१ रहेको भने कुल ३ हजार ५ सय ७८ मतदान केन्द्र तोकिएको छ । प्रदेश र संघको निर्वाचनका लागि मतदाता नामावली दर्ता गरेका बाहेक कुल मतदाता संख्या २६ लाख ६४ हजार ९ सय ५० रहेको छ ।
यसअघि, पहिलो चरणमा प्रदेश ३, ४ र ६ को वैशाख ३१ गते २ सय ८३ स्थानीय तहमा र दोस्रो चरण अन्तर्गत १४ असारमा प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ स्थानीय तहमा निर्वाचन सम्पन्न भएको थियो ।
प्रकाशित मिति:
September 03, 2017