बाबुराम र काजीको भिडन्तः गोरखा २ देशकै चुनावी केन्द्रबिन्दु बन्दै
काठमाडौं ६ कात्तिक
आगामी १० मंसिरमा हुने संघ तथा प्रदेशसभाको पहिलो चरणको निर्वाचनमा गोरखा क्षेत्र नम्बर दुईमा दुई शिर्ष नेताको रोमाञ्चक प्रतिस्पर्धा देखिएको छ ।
गोरखाको क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभाका लागि माओवादी केन्द्रका नेता नारायणकाजी र नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले उम्मेदवारी दर्ता गराएका छन् । दुई नेताको उम्मेदवारीका पछाडी प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले एक÷एकलाई समर्थन गरेका छन् । माओवादी केन्द्रका बरिष्ठ नेता श्रेष्ठ बामगठबन्धन अन्तर्गत एमालेको तर्फबाट समेत उम्मेदवार हुन् । यता, संयोजक भट्टराईले पनि लोकतान्त्रिक गठबन्धन अन्तर्गत नेपाली कांग्रेससँग तालमेल गरेकाले उनी कांग्रेसका पनि साझा उम्मेदवार हुन् ।
यसअघि बामगठबन्धनमा मिसिन आएका भट्टराई गोरखा दुई निर्वाचन क्षेत्रको उम्मेदवार बन्न नपाउने भएपछि पछि हटेका थिए । एमालेको चुनाव चिह्न सुर्यबाट निर्वाचन लड्ने र निर्वाचनलगत्तै पार्टी एकता गर्ने सहमतिमा हस्ताक्षर समेत गरेका भट्टराई बामगठबन्धनबाट बाहिरिएर कांग्रेसको शरणमा पुगेका हुन् ।
त्यसो त श्रेष्ठ र भट्टराई यसअघि एउटै पार्टी तत्कालिन एमाओवादी (हाल माओवादी केन्द्र) का दुवै जना उपाध्यक्ष समेत थिए । भट्टराई सशस्त्र संघर्षबाट आएका नेता हुन् भने श्रेष्ठ एकता केन्द्र मसालबाट पार्टी एकतामार्फत आएका नेता हुन् । भट्टराई पूर्वप्रधानमन्त्रीको जिम्मेवारी समेत सम्हालेका व्यक्ति हुन् । श्रेष्ठले भने उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । गोरखा क्षेत्र नम्बर दुईमा गत स्थानीय तहको मतपरिणाम अनुसार भने कांग्रेस र नयाँ शक्ति दुवैको मतसंख्या गन्दा भट्टराई बामगठबन्धनका उम्मेदवार श्रेष्ठ भन्दा ठूलै मतान्तरले पछाडी छन् । भट्टराईले एमाओवादी केन्द्रबाट पार्टी परित्याग गरेर नयाँ शक्ति नेपाल गठन गरेका थिए ।
प्रकाशित मिति:
October 23, 2017