बाम गठबन्धन केन्द्रमा एमाले २१, माओबादी १६ सिट
प्रमुख तीन ठूला राजनीतिक दलसंगै अन्य साना दल पनि आगामी १० मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गठबन्धन बनाएर निर्वाचन मैदानमा उत्रिएका छन् ।
स्थानीय तहको पहिलो र तेस्रो ठूला दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रले बाम गठबन्धनमार्फत ३२ जिल्लामा नै संयुक्त उम्मेदवारी दिएका छन् । पहिलो चरण अन्तर्गत हिमाल र पहाडका ३२ जिल्लामा १० मंसिरमा हुने निर्वाचनका लागि आइतबार भएको उम्मेदवारी मनोनयनमा दुवै दलले र्याली जुलुससहित संयुक्त रुपमा उम्मेदवारी दर्ता गरेका थिए ।
प्रतिनिधि सभाका लागि ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्र अन्तर्गत एमालेले २१ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ भने बाँकी १६ ठाउँमा माओवादीले उम्मेदवारी दिएको छ । एक दलले उम्मेदवारी दिएको स्थानमा अर्को दलको आधिकारिक उम्मेदवार दिइएको छैन । यद्यपी, कुनै ठाउँमा भने बागी उम्मेदवारी परेको छ ।
पहिलो चरणमा हुने ३७ निर्वाचन क्षेत्रमा प्रदेशसभातर्फको ७४ सिटमा समेत यी दलवीच तालमेल भएको छ । प्रदेशसभा तर्फ एमालेका ४१ जना र माओबादी केन्द्रका ३३ जनाको उम्मेदवारी दर्ता गरिएको माओबादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले वताइन ।
एमाले र माओवादीले बाम गठबन्धन बनाएसँगै नेपाली कांग्रेसले नयाँ शक्ति र राप्रपा प्रजातान्त्रिकलाई समेटेर लोकतान्त्रिक गठबन्धनमार्फत निर्वाचनमा होमिएको छ । कांग्रेसले नयाँ शक्ति र राप्रपा प्रजातान्त्रिकसँग चुनावी तालमेल गरेको हो । जसअन्तर्गत कांग्रेसले नयाँ शक्तिलाई गोरखा २ मा सहयोग गरेको छ ।
नेपाली कांग्रेसले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका ७४ क्षेत्रको प्रदेशसभा सदस्य निर्वाचनका लागि ६८ जनालाई उम्मेदवार बनाएको छ । कांग्रेसले बाँकी ६ सिटमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरमसँग तालमेल गरेको छ । कांग्रेसले गोरखाको क्षेत्र नम्बर २ ‘क’ र रसुवाको ‘ख’ मा नयाँ शक्ति पार्टी, धादिङ २ को ‘क’, म्याग्दीको ‘क’ र बैतडी ‘ख’ मा राष्ट्रिय प्रजातन्त्र पार्टी र भोजपुरको ‘क’ मा संघीय समाजवादी फोरमका उम्मेदवारलाई समर्थन गर्ने भएको हो ।
यस्तै प्रतिनिधि सभामा कांग्रेसले सिन्धुपाल्चोक २ मा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणा, गोरखा २ मा नयाँ शक्तिका अध्यक्ष बाबुराम भट्टराईलाई सघाउँने भएको छ । कांग्रेस पार्टी कार्यालयका सचिव प्रेम केसीले दुई जिल्लाका प्रतिनिधि सभा निर्वाचनमा कंग्रेसले अन्य दलका नेतालाई सघाउँने बताए ।
कांग्रेसले रसुवामा पनि नयाँ शक्तिलाई सहयोग गर्ने सहमति गरेपनि अन्तिम समयमा आफ्नै दलको उम्मेदवारी दर्ता गरेको थियो । कांग्रेसले रसुवाको प्रतिनिधिसभामा आफ्नै उम्मेदवारी दिने निर्णय गर्दै रसुवा ‘ख’ मा भने प्रदेशसभाका लागि सघाउने निर्णय गरेको थियो ।
संयुक्त रुपमा बाम गठबन्धनका तर्फबाट उम्मेदवारी दर्ता गरेका एमाले–माओवादी केन्द्रले संयुक्त रुपमा नारा समेत नारा तय गरेका छन् ।
प्रकाशित मिति:
October 23, 2017