नेपाल चलचित्र निर्माता संघको कार्यसमितिले निर्माता केशव भट्टराईलाई वरिष्ठ उपाध्यक्षमा मनोनीत गरेको छ । संघका पूर्वमहासचिव भट्टराईलाई संघको कार्यलय गहनापोखरीमा शुक्रबार आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्षमा मनोनीत गरिएको अध्यक्ष आकाश अधिकारीले बताए ।
संघको सोही बैठकले कार्यसमिति सदस्यमा निर्माताद्वय विकासराज आचार्य र निश्चल बस्नेतलाई पनि मनोनीत गरिएको पनि अध्यक्ष अधिकारीले जनाए । यसअघि एक दुईजना मात्र उपाध्यक्ष रहने व्यवस्था थियो भने कार्य समिति सदस्यमा पनि ११ जना सदस्य रहने व्यवस्था थियो । जसमध्ये नौ जना चुनावबाट र दुई जना कार्यसमितिले छनोट गर्ने व्यवस्था थियो । नयाँ संशोधनअनुसार १२ जना चुनावबाट र २ जना मनोनयनबाट कार्यसमितिमा छनोट हुने पनि अध्यक्ष अधिकारीले बताए । उनका अनुसार तीन जनाको मनोनयनसँगै निर्माता संघ २१ सदस्यीय कार्यसमितिमा रूपान्तरण भएको छ ।
संघ अध्यक्ष आकाश अधिकारीले निर्माताको हकहितका लागि थप संगठित हुनुपर्ने आवश्यकता महसुस गरी संशोधनमार्फत कार्यसमिति सदस्यको संख्या बढाएको प्रकाश पार्दै भने, ‘हिजोको अनुभव र आजको जोसलाई एक ठाउँ भेला गरेर निर्माता संघलाई गतिशील बनाउन नयाँ सदस्यलाई संघमा आबद्ध गराएका हौं । योसँगै हामीले हाम्रो कार्यकालमा गर्ने भनी अघि सारेका एजेन्डामा सक्रियतापूर्वक लाग्नेछौं ।’
नेपाल चलचित्र निर्माता संघबाट फुटेर चलचित्र निर्माता संघ नेपाल फुटेपछि यी दुवै संघ निष्क्रिय जस्तै छन् । निर्माताहरूका लागि यी दुवै संघले पछिल्लो समय उल्लेख्य कार्य गर्न नसकेको आरोप लागेको बेला आकाश अधिकारी नेतृत्वको संघले कार्यसमिति विस्तार गरेको हो ।
अब आफूहरूले बक्स अफिस, फिल्म रिलिज र सेयर बाँडफाँटका सम्बन्धमा सरोकारवालासँग तदारुकतासाथ वार्ता गर्ने अध्यक्ष अधिकारीले दाबी गरेका छन् । लामो समय निष्किय रहेको संघलाई आकाशले कुन रूपमा अघि लैजाने हुन भन्ने प्रतीक्षामा संघका निर्माता सदस्य छन् ।
Powered by Blogger.
निर्माता संघमा उपाध्यक्षसहित तीन मनोनयन
प्रकाशित मिति:
November 13, 2017