पर्यटकिय चक्रपथ बनाउने घोषणाको पक्षमा सडकमा उर्लिए युवा तथा विद्यार्थी (फोटोफिचरसहित)
ललितपुर १६ मंसिर
ललितपुरलाई पर्यटिकय चक्रपथ निर्माण गर्ने वाम उम्मेदवारहरुको प्रतिवद्धतासँगै विद्यार्थी तथा स्थानीय युवा उत्साहित देखिएका छन् ।
वाम गठबन्धन दलले ललितपुरमा पर्यटकिय चक्रपथ निर्माण गर्ने घोषणा गरेपछि करिब डेढ सय युवाले पर्यटकिय चक्रपथ क्षेत्र तोकिएको रुटमा शनिबार साइकल र्याली निकालेर समर्थन जनाएका छन् ।
ललितपुरस्थित पुल्चोेकबाट सुरु भएको साइकल र्याली पाटन दरबार स्क्वायर हुँदै हरिसिद्धि, थैव, सुनाकोठी, ठेचो, बुगमति, खोकना सैबु लगायत स्थानमा परिक्रममा गरेको थियो । र्यालीमा डेढ सय बढी युवा तथा विद्यार्थीको सहभागिता रहेको थियो ।
उक्त र्यालीको ललितपुर क्षेत्र नम्बर तीन प्रतिनिधिसभातर्फ वाम गठबन्धनका साझा उम्मेदवार पम्फा भुसालले उद्घाटन गरेकी थिइन् ।
उनले उदघाटनका क्रममा वाम दलको घोषणापत्रको स्वागत र समर्थन गर्दै साइकल र्यालि निकालिएकोमा धन्यवाद दिएकी थिइन् । सो क्रममा उनले ललितपुरलाई समृद्ध र विकसित ललितपुर बनाउन सकिने भन्दै वाम गठबन्धन दलका उम्मेदवारलाई जिताउन अपिल समेत गरिन् ।
नेकपा माओवादी केन्द्रकी प्रवक्ता समेत रहेकी भुसालले ललितपुरमा पर्यटिकय चक्रपथ निर्माण गर्ने, ललितपुरका सबै सडक पिच गर्ने, ललितपुरलाई देशकै साँस्कृतिक राजधानी बनाउने आफूहरुको योजना रहेको समेत जानकारी दिइन् ।
साइकल र्यालीका अगुवा अमृत अधिकारीले वाम गठबन्धनले ललितपुरको पाटन दरबार स्क्वायर हुँदै हरिसिद्धि, थैव, सुनाकोठी, ठेचो, बुगमति, खोकना र सैबु हुँदै पयर्टकिय चक्रपथ बनाउने योजना ल्याएकाले त्यसको समर्थनमा साइकल र्याली निकालिएको बताए ।
उनले पर्यटकिय चक्रपथ निर्माण गर्न सके ललितपुरका कला सँस्कृति विश्वभर सजिलै पुर्याउन सकिने पर्यटकिय चक्रपथले ललितपुरका विकास र समृद्धिमा समेत महत्वपूर्ण भूमिका खेल्ने बताए ।
ललितपुर क्षेत्र नम्बर तीनमा प्रतिनिधिसभातर्फ वाम गठबन्धनका तर्फबाट साझा उम्मेदवार पम्फा भुसाल र प्रदेशसभातर्फ राजकाजी महर्जन र जिवन खड्को संयुक्त घोषणापत्रमा ललितपुरमा पर्यटकिय चक्रपथ निर्माण गर्ने प्रतिवद्धता जनाइएको छ ।
प्रकाशित मिति:
December 02, 2017