'ललितपुरको बाटो पिच गर्छु भनेर हिडेका जिल्ला सभापति तथा सांसद अमात्य, भोट माग्न मात्र फर्किए'
काठमाडौं १७ मंसिर
ललितपुरस्थित चापागाउँ दोबाटो देखि ढोलाहिटी सम्मको बाटो धुमाम्मे भयो । पिच गर्ने भनियो, महिनाैं भएन । स्थानीय तहको निर्वाचनको मुखमा स्थानीयले जुक्ति खियाए अब यस क्षेत्रका सांसद मदन अमात्यलाई यहीँ ल्याएर देखाउ, चुनाव भएकाले पक्कै आउँछन् । त्यसपछि स्थानीयले कांग्रेस जिल्ला पार्टी सभापति समेत रहेका सोही क्षेत्रका जनप्रतिनिधि अमात्यलाई बोलाए । उनले आउँछु भन्दै टारिरहे । पत्रकार सम्मेलन गरेर विकास गरेन भनेर पर्दाफास गछौं भनेर स्थानीय चेतावनी दिए, चुनावको मुखमा नै भएकाले अमात्य केही डराए पनि । अनि एक बिहान त्यहीँ धुलो सडकमा उपस्थित भए । स्थानीयले हिडाएरै धुलाम्मे सडक देखाए । उनले आफूले तत्काल बनाउँछु भनेर प्रतिवद्धता जनाएर बिदा भए । तर त्यसपछि उनले न बाटो बनाए, न कहिल्यै फर्किए । तर हिजो आज भने अमात्य सोही क्षेत्रमा भोट माग्न फर्किएका छन् । त्यहाँका एक स्थानीय भन्छन्, 'तत्काल बाटो पिच गर्छु भनेर हिडेको मान्छे, भोट माग्न मात्र फर्कियो ।'
अमात्य भोट माग्न फर्किएपछि अहिले स्थानीयले त्यहीँ बाटो देखाउँदै किन नबनाएको भनेर प्रश्न गर्ने गरेका छन् । ५५ वर्षपछि ललितपुरमा कांग्रेसले विजयी हासिल गरेपनि जनप्रतिनिधिले विकासको काम गर्न नसक्दा ललितपुर कांग्रेस जनस्तरबाट आलोचित बनेको छ । अमात्य भने आफूले कार्यकालमा विकासको काम थुप्रै गरेको दाबी गर्छन् ।
यता, चापागाउँ दोबाटो - ढोलाहिटीको बाटो पिच नभएपछि आक्रोशित स्थानीयले स्थानीय तहको निर्वाचनको पेरिफेरिमा नै एक दिन सडक नै अवरोध गरे । त्यसपछि भने बल्ल आधा भाग जति बाटो पिच भएको छ । बाँकी सडक धुलाम्मे नै छ । स्थानीय धुलोले हैरानी बेहोरिरहेका छन् । स्थानीय भन्दैछन्, हामीले चुनेका जनप्रतिनिधिले विकासको सिन्को भाचेनन् ।
प्रकाशित मिति:
December 03, 2017