करोडौँ जरिवाना नतिरी लुक्दै हिडेका खड्का समातिए

चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार काठमाडौँको साविक गागलफेदी गाविस–५ घर भएका ३४ वर्षीय खड्का पक्राउ परेका हुन् । उनलाई भरतपुर महानगरपालिका–९ गोन्द्राङबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक ढकालले जानकारी दिए।
चितवन प्रहरी र केन्द्रीय अनुसन्धान ब्यूरोको संयुक्त टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई बैंकिङ कसुर मुद्दाद्वारा २०७१ साल असोज १ गते पुनरावेदन अदालत पाटनले तीन वर्ष कैद र रु पाँच करोड ७५ लाख जरिवाना तोकेको थियो ।
त्यसपछि फरार हुँदै आएका उनलाई फैसला कार्यान्वयन गर्ने सिलसिलामा खोजी अभियानका क्रममा पक्राउ गरेको हो ।
यसैगरी फुटबल खेलिरहेका बेला भरतपुरका सञ्जय कार्कीलाई आक्रमण गरी फरार भएका चितवन भरतपुरका अमृत गुरुङ र सिजे लामालाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनलाई काठमाडौँको नीलबारहीबाट पक्राउ गरी सार्वजनिक अपराध ऐनअन्तर्गत म्याद थप गरी चितवनमा अनुसन्धान अघि बढाइएको छ ।
प्रकाशित मिति:
January 29, 2018