पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन वाम युवा संगठनको माग
काठमाडौँ, २० पुस ।
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) निकटका युवा तथा विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेका छन् ।
उनीहरुले आज नेपाल आयल निगमका निमित्त महाप्रबन्धक सुशील भट्टराईलाई ज्ञापनपत्र बुझाउँदै राजनीतिक संक्रमणको समयमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएकामा आपत्ति जनाएका हुन् ।
निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएको भन्दै यही पुस १७ गतेदेखि इन्धनको मूल्य बढाएको थियो । आयोगका निमित्त महाप्रबन्धक भट्टराईले अन्तर्राष्ट्रिय रुपमा नै मूल्यवृद्धि भएकाले निगमले बाध्य भएर मूल्यवृद्धि गर्नु परेको बताए । युवा तथा विद्यार्थी संगठनले भने विगतमा घरायसी र व्यावसायिक प्रयोजनका लागि छुट्टाछुट्टै रुपमा ग्यासको सिलिण्डर बनाउने निर्णय भएको भन्दै सो सहमति कार्यान्वयन नभएकामा गुनासो गरेका थिए । पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदा त्यसले उपभोक्ताको चुलोमा समेत प्रभाव पार्ने, मूल्यवृद्धि हुने तथा अन्य दैनिक उपभोग्य वस्तुमा समेत नकारात्मक असर पर्ने भएकाले तत्काल फिर्ता लिन माग गरेका थिए ।
निमित्त महाप्रबन्धक भट्टराईले युवा विद्यार्थीको ध्यानकर्षणलाई गम्भीरतापूर्वक लिने विश्वास दिलाएका थिए ।
युवा संघ नेपालका अध्यक्ष राजीव पहारी, वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा, अनेरास्ववियुका अध्यक्ष नबिना लामा र अखिल (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले संयुक्त रुपमा हस्ताक्षर गरेकाे ज्ञापनपत्र निमित्त महाप्रबन्धक भट्टराईलाई बुझाइएको अखिल (क्रान्तिकारी)का उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।
बिनाआधार हचुवामा गरिएको मूल्यवृद्धि फिर्ता लिन र पूर्वसहमतिअनुसार विद्यार्थीलाई सहुलियत दरमा खाना पकाउने ग्यास उपलब्ध गराउने निर्णय अविलम्ब कार्यान्वयनमा ल्याउनसमेत सो अवसरमा माग गरिएको थियो ।
निगम सञ्चालक समितिले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य बढाउने निर्णय गरेको थियो ।
निगमका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर रु एक/एक मूल्यवृद्धि गरिएको छ । निगमले खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर रु २५ र हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु तीन बढाइएको थियो । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर रु १०२, डिजेल र मट्टितेल प्रतिलिटर रु ७९/७९, खाना पकाउने ग्यासप्रति सिलिण्डर रु एक हजार ३७५ तथा हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर रु ९० कायम गरिएको छ ।
भारतीय आयल निगमले आज नयाँ मूल्यसूची पठाएपछि इन्धनको मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
प्रकाशित मिति:
January 04, 2018