स्मार्ट सिटी विशेष ‘लोकस फेस्टिबल’ १९ माघदेखि सुरु
नेपाली इलेक्ट्रिकल तथा कम्प्युटर इन्जिनियरिङ विषयमा अध्ययरत विद्यार्थीहरुको आयोजनामा हरेक वर्ष आयोजना हुने लोकस फेस्टिबलको १५ औं संस्करण आगामी १९ देखि २१ माघसम्म सञ्चालन हुने भएको छ ।
पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरुको आयोजनामा पुल्चोक क्याम्पस परिसरमा हुने फेस्टिबलको यस वर्षको मुख्य नारा ‘स्मार्ट सिटीः सूचना, सञ्चार तथा प्रविधि’ तय गरिएको छ ।
लोकसका संयोजक प्रसिद्ध कार्कीले फेस्टिबलको सबै तयारी पूरा भएको बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जारी दिए ।
लोकसका मिडिया संयोजक वसन्त चौलागाईले देशमा तिनै तहको निर्वाचन सम्पन्न भएको र अब देश स्थायी शान्ति र आर्थिक विकासको बाटोमा लम्किदै गएको अवस्थामा नेपाली विद्यार्थीहरुको सिप सिर्जना तथा उत्पादनलाई प्रदर्शन गर्दै निर्वाचनमा विभिन्न नेता तथा उम्मेदवारले स्मार्ट सिटीको नारा दिएकाले स्मार्ट सिटी कस्तो हुन्छ भनेर देखाउन यस वर्षको लोकसको मुख्य नारा स्मार्ट सिटी बनाइएको बताए ।
पुल्चोक क्याम्पस इलेक्ट्रिकल तथा कम्प्युटर डिपार्टमेन्टका एसोसिएट प्रोफेसर डा. सुरेन्द्र श्रेष्ठले स्मार्ट सिटी के हो र कस्तो हो भनेर देखाउन खोजेको जनाउँदै स्मार्ट सिटीका बारेमा नबुझेकाहरुलाई यो प्रदर्शनीले कन्सेप्ट तय गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
लोकसका संयोजक कार्कीले प्रदर्शनी मुख्य तीन भागमा विभाजित गरेको र त्यसमा प्राविधिक पूर्वाधार, वैकल्पिक उर्जा र अनलाइन सर्भिसको विषयलाई प्रदर्शनीको मुख्य आकर्षकको रुपमा प्रस्तुत गरिने जानकारी दिए ।
प्रदर्शनीका क्रममा ड्रोनाचार्य, रोबो वार्ज, इनर्जी ह्याकथन, विभिन्न व्यक्तित्वहरुसँगको संवाद, टेक डिबेट, चिल्ड्रेन इन टेकनोलोजी, फोटोग्राफी, सफ्टवेयर सम्बन्धी कार्यक्रम लगायत आयोजना हुने आयोजकले जनाएको छ ।
माथिका कतिपय प्रतियोगिताहरु भने यसअघि नै सम्पन्न भईसकेको छन् ।
प्रकाशित मिति:
January 31, 2018