बुटवल, २१ पुस । रुपन्देहीको देवदह नगरपालिका–५ का स्थानीय व्यवसायीसमेत रहेका एक युवकको आज गोली हानी हत्या गरिएको छ ।
अज्ञात समूहले स्थानीय करिब ४२ वर्षीय बलु भनिने वसन्त पौडेललाई गोली हानी हत्या गरेको हो । मृतक पौडेलको टाउकामा गोली लागेको थियो । उहाँको लुम्बिनी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
देवदह नगरपालिका–२ स्थित ढेकावार खैरेनीमा आफ्नै काठ (स–मिल) मिलमा आगो तापेर बसिरहेका बेला कालो रङको पल्सर मोटरसाइकलमा आएको अज्ञात समूहले पौडेलको टोउकामा गोली हानेर फरार भएको थियो । गोली प्रहार गर्ने समूह सोही मोटरसाइकलमा रोहिणीखोलातर्फ भागेको प्रत्यक्षदर्शीले बताएका छन् ।
यस्तै गोली प्रहारबाट स्थानीयवासी युवा पौडेल बलुको हत्या भएको विरोधमा बुटवल बन्द भएको छ । तत्काल हत्यारा पत्ता लगाउन माग गर्दै आक्रोशित युवा विद्यार्थीले बन्द गरेका हुन् । मृतक पौडेल पूर्व गाविस अध्यक्ष तथा एमाले स्थानीय नेता नीलकण्ठ पौडेलका एक्ला छोरा हुन् ।
एक वर्षअघि सोही गाउँमा युवा संघका नेता दुर्गा तिवारीको हत्या भएको थियो । वसन्त दुर्गाका नजिकका साथी थिए ।
घटनालगत्तै आफूलाई मलेसियाबाट मनोज पुन बोलेको बताउने व्यक्तिले स्थानीय सञ्चारकर्मी र विभिन्न व्यक्तिलाई फोन गरी हत्या आफ्नो योजनामा गरेको बताएका छन् । उनले आफू मलेसियामा रहेको र आफ्नै योजनामा बुलुको हत्या भएको स्थानीय सञ्चारकर्मीलाई जनाएका छन् ।
एक वर्षअघि पनि उनले यस्तै फोन गरी दुर्गाको हत्या आफूले गराएको र अब वसन्तको पालो भन्दै धम्की दिएका थिए ।
गोली कसले चलायो भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । गोली प्रहार गर्ने व्यक्ति कालो डिस्भर मोटरसाइकलमा रोहिणी खोलातिर भागेको स्थानीयवासीले बताएका छन् ।
घटनाका बारेमा अनुसन्धान भइरहेको र आक्रमणकारीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।
Powered by Blogger.
व्यवसायीसमेत रहेका युवकको गोली हानी हत्या
प्रकाशित मिति:
January 05, 2018