निर्वाचनलाई जोडेर आयोगमाथि लाञ्छना नलगाउन निर्वाचन आयुक्त यादवको आग्रह
पौष १९, काठमाडौँ
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचनको नतिजालाई जोडेर आयोगको छविलाई धुमिल र कमजोर नबनाउन राजनीतिक दल र उनीहरुको भ्रातृ संगठनलाई आग्रह गरेका छन् । नेकपा (एमाले)का भ्रातृ संगठन अखिल नेपाल महिला संघका अध्यक्ष गोमा देवकोटाको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले प्रस्तुत गरेको ज्ञापनपत्र बुझ्दै प्रमुख आयुक्त डा.यादवले समानुपातिक तर्फको नतिजाको विषयलाई जोडेर वैधानिक निकाय निर्वाचन आयोगमाथि अनेक किसिमका लाञ्छना लगाउने कार्य तत्काल बन्द गर्न आग्रह गरेका हुन् ।
ज्ञापनपत्र बुझ्दै प्रमुख निर्वाचन आयुक्त डा यादवले भने, “प्रदेशसभाको निर्वाचनको नतिजा कहाँ बुझाउने प्रदेश प्रमुख खोइ ? निर्वाचनको परिणाम आउनेबित्तिकै किन आत्तिनुभएको ? पवित्र उद्देश्यले संविधान र कानूनअनुसार काम गरेको संस्थामाथि लाञ्छना लगाउनु भनेको आपत्तिजनक विषय हो ।”
यादवले क्षणिक व्याख्या र विश्लेषण नगर्न आग्रह गर्दै विधि र प्रक्रिया पूरा गरेरमात्रै निर्वाचनको नतिजा सार्वजनिक हुने भएकाले शान्तिपूर्ण सत्ता हस्तान्तरणको प्रतीक्षा गर्न सुझाव दिएका छन् ।
महिला संघले बुझाएको ज्ञापनपत्रमा प्रदेशसभाको समानुपातिकतर्फको निर्वाचनको परिणाम घोषणा गरेको एकसाता बितिसक्दा पनि एउटै मतपत्रमा गरिएको प्रतिनिधिसभाको मत परिणाम सार्वजनिक नभएकाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
ज्ञापनपत्रमा भनिएको छ, “निर्वाचनको ताजा जनादेशको अवमूल्यन गर्दै जनताबाट लोकप्रिय मतका साथ जनअनुमोदन शक्तिलाई सरकारमा जानबाट रोकेर सत्ता लम्ब्याउन खोज्ने वर्तमान सरकारको अलोकतान्त्रिक योजनामा निर्वाचन आयोग मतियार बनी कलंकको टीका नलगाओस् भनी आग्रह गर्न चाहन्छौँ ।”
“प्रमुख निर्वाचन आयुक्त र आयोगलाई स्वतन्त्र र निष्पक्ष भई तत्काल प्रतिनिधिसभाको समानुपातिकतर्फको परिणाम सार्वजनिक गरी जनमतको कदर गर्न अनुरोध गर्दछौँ,” ज्ञापनपत्रमा भनिएको छ ।
अखिल नेपाल महिला संघ क्रान्तिकारी र अखिल नेपाल महिला संघमा आबद्ध महिलाको सो अवसरमा सहभागिता थियो ।
प्रकाशित मिति:
January 03, 2018